अब त आफैलाई सम्झँदा कविता

ध्रुव अधिकारी कालेबुङ


अब त आफैलाई सम्झँदा
एउटा उपन्यास बनिने रहेछ।
विगत कोट्याउन थालियो भने
वर्तमान झिझटो लाग्ने भए छ।

बालापन युवा तरुण सबै सबै फर्केर हेरौँ भन्छु
अतीत बगेर टाढै पुगी सकेछ
त्रिहत्तरौँ हिउँद लडाईं गर्दै
आजसम्म त पाइला गन्ती गरिन्दैछ।

भोलिको चौहत्तर खुड्किलो
टेक्न पाउँदा नौलो आयामको
आभासले कुतकुत्याउँदै छ।
जे होस मेरो अन्तरात्मा
अझै पनि लङ्का फाँडछु भन्दै छ।

मन दह्रो छ मस्तिष्क
खरो छ चिन्ता छैन ज्यान सुगठित छ।
सन्तान फैलिएका छन्।
जताततै कुल पित्री देवी देवता
सबै सबै आशीर्वाद दिन।

मै तिर फर्केर होला।
अझै वर्षौं बाँच्ने आशा भर्दै
भोलिको चौरहत्तरको सिँढी चढ्नु छ।