देशमा नयाँ युग प्रवेश: मुख्यमन्त्री राई

काठमाडौँ। प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले देश नयाँ युगमा प्रवेश गरिसकेको बताएका छन्। खोटाङको ऐँसेलुखर्क गाउँपालिकाले आयोजना गरेको ‘प्रथम बहानेपोखरी महोत्सव २०७६’ को उद्‌घाटन कार्यक्रममा मङ्गलबार उनले यो युग हाम्रो युग भएको बताए।

हेलिकोप्टरमार्फत खोटाङ पुगेका मुख्यमन्त्री राईले देशमा पहिलोपटक स्थिर र बलियो सरकार बनेको बताए।  “यो युग शान्ति, विकास, समृद्धि, सुशासन र राजनीनिक स्थायित्वको युग हो।” उनले भने, देशमा छ महिनामा सरकार ढल्ने युग समाप्त भइसकेकाले दिगो विकासमा सबै एकजुट हुनुपर्ने अवस्था आएको छ।

“विगतमा एउटा सरकार ढालेर फेरि नौ महिनापछि अर्को बनाउनुपर्ने अवस्था थियो”, उनले भने, “सरकार ढाल्ने र बनाउने परिपाटीलाई हामीले समाप्त गरिसक्यौँ। अब देशको दिगो विकास सरकारको एक मात्र कार्यसूची हुनेछ।”

अन्य सम्बन्धित समाचार:  एमाले सांसद झपटबहादुर बसेको घरमा ढुंगा प्रहार

प्रदेश नं १ पर्यटकीय क्षेत्रको अथाह सम्भावना बोकेको प्रदेश भएकाले आआफ्नो क्षेत्रबाट धेरैभन्दा धेरै आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने गतिविधि गर्न स्थानीय तहका जनप्रतिनिधिलाई उनले आग्रह गरे। “आफ्नो क्षेत्रमा भएको कृषि तथा पर्यटनको प्रवर्द्धनमा लाग्नुहोस्”, उनले भने, “कृषि तथा पर्यटन नै प्रदेश नं १ को समग्र विकासको प्रमुख आधार हो।”

फागुन १३, १४ र १५ गतेसम्म सञ्चालन हुने महोत्सवमा सांसद विशाल भट्टराई, दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख दीपनारायण रिजाल, छिमेकी स्थानीय तहका जनप्रतिनिधि तथा राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिले शुभकामना दिएका छन्। जिल्लाको उत्तरी क्षेत्रमा पर्ने ऐसेलुखर्क गाउँपालिकाको वडा नं १ राखाबाङ्देलमा अवस्थित पर्यटकीयस्थल बहानेपोखरीको प्रचारप्रसार गर्दै पर्यटन प्रवर्द्धन गर्न उक्त गाउँपालिकाले महोत्सवको आयोजना गरेको हो।