पूर्वडीआईजी खरेलले नयाँ पार्टी खोल्ने, बिहीबार घोषणा

काठमाडौँ।  नेपाल प्रहरीमा सक्षम र इमान्दार अधिकृतको छवि बनाएका पूर्वडीआईजी रमेश खरेलले पनि नयाँ पार्टी खोल्ने भएका छन्। भोलि बिहीबार दलको औपचारिक घोषणा गरिने बताइएको छ।

भ्रष्टाचारविरोधी अभियान, सुशासन, राष्ट्रहित, नागरिकका हक अधिकारलाई केन्द्रमा राखेर अभियानलाई सक्रिय बनाइने खरेलले बताएका छन्। पार्टी स्थापनाको उद्देश्यले उनले ‘हाम्रो नेपाल हामी नेपाली’ अभियान आफ्नै संयोजकत्वमा स्थापना गरेका छन्।

खरेल संयोजक रहेको अभियानमा देवेन्द्र सिटौला, ज्ञानेन्द्र शाहीलगायत पनि आबद्ध छन्। शाही आफूलाई भ्रष्टाचार विरोधी अभियान्ता भनेर चर्चामा आएका छन्। उनी विवादास्पद व्यक्ति पनि हुन्।

खरेलको पार्टीमा पूर्वप्रशासक, पूर्वसुरक्षाकर्मी, पूर्वप्राध्यापकलगायतलाई पनि समेटिने बताइएको छ।
२०७४ माघ २८ गते प्रहरी महानिरीक्षकमा सर्वेन्द्र खनाललाई बढुवा गरिएपछि खरेलले पदबाट राजीनामा दिएका थिए।

अन्य सम्बन्धित समाचार:  अभिभावकमा कोरोनाको त्रास, विद्यालय सञ्चालनमा चुनौती