ओली प्रचण्डले एउटै मञ्चबाट कार्यकर्तालाई प्रशिक्षण दिने

काठमाडौँ।   सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिहीबार एउटै मञ्चबाट कार्यकर्तालाई प्रशिक्षण दिने भएका छन्।

बग्गीखानास्थित यलम्बर पार्टी प्यालेसमा हुने बाग्मती प्रदेशका अगुवा कार्यकर्तालाई प्रशिक्षण दिन ओली-प्रचण्ड पुगिसकेका छन्।

उनीहरूसँग वरिष्ठ नेता माधवकुमार नेपाल र सचिवालय सदस्य तथा रक्षा मन्त्री ईश्वर पोखरेल पनि प्रशिक्षणमा सहभागी छन्।

बुधबार बसेको नेकपा सचिवालय बैठकले प्रचण्डको प्रस्तावमा उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभामा सिफारिस गर्ने निर्णय गरेपछि नेकपाभित्रको विवादले उग्र रूप लिएको छ।

प्रधानमन्त्री ओलीले सचिवालयको उक्त निर्णय नमान्ने र अर्थमन्त्री युवराज खतिवडालाई नै राष्ट्रिय सभामा निरन्तरता दिने बताएका छन्।
विवाद साम्य नभए पनि आज दुबै अध्यक्ष एउटै मञ्चमा देखिएका हुन्।

अन्य सम्बन्धित समाचार:  मुख्यमन्त्री गुरुङले अविश्वास प्रस्ताव छल्न प्रदेशसभा अधिवेशन अन्त्य गरे

यसअघि सुर्खेत र कोहलपुरमा भएको कार्यक्रम प्रशिक्षणमा प्रचण्ड गएका थिए भने पोखरामा प्रधानमन्त्री ओलीले प्रशिक्षण दिएका थिए।