पेट्रोलियम पदार्थमा कर लगाएकोमा नेविसंघको आपत्ति

काठमाडौँ। नेपाल विद्यार्थी संघले इन्धनमा कर लगाइँदा अप्रत्यक्षरूपमा मूल्यवृद्धि हुने भन्दै तत्काल पेट्रोलियम पदार्थमाथि लगाइएको कर फिर्ता लिन सरकारसँग आग्रह गरेको छ।

करले इन्धनको मूल्यवृद्धि भई सबै उपभोग्य सामानको बजार भाउ बढ्ने जिकिर गर्दै संघले कर फिर्ता गर्न आग्रह गरेको हो।

पूर्वाधार करका रूपमा यसअघि उठाइँदै आइएको रकम सदुपयोग नभएको भन्दै नेविसंघले फेरि कर बढाइनु गम्भीर भएको जनाएको छ।

नेविसंघले आयातित पाठ्यपुस्तकमा लगाइएको करसमेत फिर्ता लिन सरकारसँग माग गरेको छ । यस्तै बालुवाटारस्थित ललितानिवास जग्गा प्रकरणलगायत आर्थिक अनियमितामा संलग्नमाथि कडाभन्दा कडा कारबाही गर्न माग गरिएको छ।

नेविसंघका अध्यक्ष राजिव ढुङ्गानाद्वारा आज जारी विज्ञप्तिमा तत्काल स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको नयाँ मिति तोक्न पनि आग्रह गरिएको छ।

अन्य सम्बन्धित समाचार:  माफिया शैलीमै मेडिकल सामानमा ब्रम्हलुटको तानाबाना (के-के भएको थियो? भिडियो हेर्नुहोस्)