लघुकथा : डिम्पलवालीको रामधुलाई


 

बिजय हिजो साथी अजयको बर्थडे पार्टीमा राम्रैसंग सुरापान गरी रमाईलो गरेर घर फर्कदै थियो। साँझ पर्नै लाग्दा एउटी असाध्यै सुन्दर महिला उसको आँखा अगाडि ठोक्किईन्। कालो गगल्स निधारमाथि राखेकी, कम्मर छोएको लामो कपाल, सलक्क परेको पातलो शरीर, बीस हजार हाराहारी पर्ने बुटिकवाला साड़ी, हात, नाक, कान, घाँटीमा लगाउन मिल्ने जति गहना अनि शिरमा शिरफूलले ढपक्कै ढाकिएकी थिईन्। उनी कम्मरसम्म आएको हरियो माईली तिलहरीले उनको सुन्दरता झन् बढाएको थियो। पक्कै कसैको बिहेबाट आएको अनुमान गर्यो बिजयले।

अझ बिदेशबाट मगाएको महंगो स्याण्डल, देब्रे हातमा बिदेशी ब्राण्डेड ब्याग भिरेकी, आईफ़ोन एघारमा कसैसंग मुसुक्क हाँसेर कुरा गरिरहँदा गालाको डिम्पल बेला बेला झन् गहिरो हुँदा त झनै राम्री देख्यो बिजयले।

पहिलो पटक कोही यति सुन्दर महिला देखेका उसका आँखाले उनलाई शिरदेखि पाउसम्म हेरिरहेको उसले चाल नै पाएनछ। ती महिलाले पनि उसले हेरेको देखेर आफ्नो हाउ भाउमा झन् निखार ल्याएकी थिईन्। उसले जति जति उनका हरेक अंग हेर्थ्यो उनले झन् उसको हेराईलाई बल पुग्ने गरी मस्किन्थिन् ! बिजयलाई कस्तो कस्तो भईरहेको थियो।

त्यो बेला बिजयलाई आफ्नो पत्नीब्रता धर्म नष्ट हुनै लागेको महशुस भयो। आफूलाई बिवाहित हूँ भन्ने पनि भूलेर उनको नजिक नजिक भईरहेको थियो ऊ। उसको मुटु जोडले धड्किएको थियो। तर उनी भने फ़ोनमै ब्यस्त थिईन्।

उनलाई कहिँ देखेजस्तै लाग्यो। अब त जे पर्ला पर्ला यति राम्री केटीसंग त बोल्नै पर्यो भनेर पछाडि नजिकै गएर सोध्योस् “एक्सक्युज मी, मैले तपाईँलाई कहिँ देखेको हो? कहाँसम्म जाने, म पुर्याईदिऊँ?”

ती महिलाले आँखा रातो पारेर रिसाउँदै भनिन्स् कुकुरको मुत कति धोकेको हो र आफ्नै बूढी नचिन्ने गरी ! अब घर पुगेपछि बताउँला कहाँ जाने भनेर !

बिजयको सबै नशा उत्रियो, आफूलाई साथीले अलि बढि पिलाएको स्पष्टिकरण दिए पनि उसले सफाई पाएन।

घर आएपछि त्यो रात आफ्नै डिम्पलवालीको राम धुलाईपछि बिजय कौशीमै सुत्यो। बिहान उठ्दा लाज र जाडोले उसको अनुहार रातो भएको थियो।