काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टी ( नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी कार्यदलको सुझावअनुसार परिमार्जन नगरी अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) पारित नहुने बताएका छन्।
प्रेस संगठन नेपालले शनिवार सिन्धुपाल्चोकको सुनकोशीस्थित सुकुटेमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले नेपाल र अमेरिकाबीच सुमधुर सम्बन्ध रहेको चर्चा गर्दै परिमार्जन नगरी ५५ अर्ब रुपैयाँका लागि राष्ट्रहित विपरीत सम्झौता नगरिने बताए।
अमेरिकी सरकारसँग सहयोग लिन चाहेको उल्लेख गर्दै अध्यक्ष दाहालले सुझावसहित अमेरिकी सरकारलाई आग्रह गर्ने उल्लेख गरे। आग्रहलाई मञ्जुर नगरे राष्ट्रहित विपरीत सम्झौता नगर्ने उनको भनाइ थियो।
उनले अहिले संविधान संशोधन नहुने बताउँदै पार्टीको निर्णयअनुसार उपाध्यक्ष गौतम नै राष्ट्रियसभा सदस्यमा मनोनित हुने दोहोर्याए।
अध्यक्ष प्रचण्ड शनिवारदेखि शुरू हुने नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी आयोजित चौतारा सागाचोकगढी नगरपालिकाको सुनकोशीस्थित सुकुटे महोत्सवको उद्घाटन गर्न शुक्रवार सिन्धुपाल्चोक पुगेका हुन्।