वाग्मती सफाइसँगै सिधै ढल हाल्ने क्रम जारी

काठमाडौँ। वाग्मतीको मुहानस्थित गोकर्णेश्वर नगरपालिका वडा नं २ र ४ को सीमास्थित कोलमती खोलामा सडक बिस्तारका क्रममा सिधै ढल हालिएको छ। काठमाडौँ उपत्यका सडक बिस्तार आयोजनाले सडक बिस्तार गर्ने क्रममा वडा नं ४ किसिगालबाट नदीमा सिधै ढल हालिएको हो। ढल कोलमती खोलाको करिब १०० मिटर दूरी पार गरेपछि वाग्मती नदीमा मिसिन्छ।

यसतर्फ सरोकार भएका निकायको ध्यान जान सकेको छैन। नगरपालिकाका प्रवक्ता मनोजकुमार ढुगांनाले आइतबार के भएको हो भन्ने बुझ्न प्राविधिक पठाइने बताए। नदीमा ढल हाल्न नदिइने उनको प्रतिबद्धता छ।

वाग्मती सफाइ महाअभियानको ३५५औँ हप्तामा तिलगङ्गा क्षेत्रको नदी किनारमा सफाइ गरियो। एक्काइस संस्थाका ३५० अभियानकर्मीेले गरेको सफाइबाट छ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिले जनाएको छ। वाग्मतीको मुहानदेखि नै सफा गरौ्ँ भन्ने अभियान चलाएको वाग्मती सुन्दरता सरोकार मञ्चले ३१६औँ हप्ताको कार्यक्रम गोकर्णेश्वर–८ माकलबारी क्षेत्रमा सफाइ गरेको छ।

नगरपालिकाका प्रमुख सन्तोष चालिसे, उपप्रमुख शान्ति नेपाल, सल्लाहकार दीपक रिसाल, प्रवक्ता तथा वडा नं। ८ का अध्यक्ष मनोजकुमार ढुंगाना, अधिकार सम्पन्न वाग्मती समितिका आयोजना प्रमुख लीलाप्रसाद ढकाल, नेपाल मेडिकल कलेजका अध्यक्ष डा। भोला रिजाल, जया मल्टीपल क्याम्पसका प्रमुख भवानीप्रसाद पौडेललगायत अभियानकर्मीको सक्रियता थियो।

अन्य सम्बन्धित समाचार:  २०७५ जेठ २ गते वरपर रहेर समस्या समाधान गर्ने एमालेमा सहमति

सफाइका क्रममा कुहिने फोहरलाई खाडल खनेर गाडी नकुहिने फोहर व्यवस्थापन गरिएको अभियानकर्मी ईश्वर पुडासैनीले जानकारी दिए। मञ्चले वडास्तरसमेतमा समिति गठन गरी सफाइ अभियानमा परिचालन गर्दै आएको छ। यस क्षेत्रको वाग्मती सौन्दर्यकरणसमेतले पछिल्लो समय निरन्तरता पाएको छ । छिटोभन्दा छिटो सौन्दर्यकरणको काम सक्ने गरी निर्माण व्यवसायी परिचालन गरिएको बताइएको छ।

विष्णुमती सफाइ अभियानको २८३औँ हप्तामा तारकेश्वर नगरपालिका वडा नं ६ र ८ को सङ्गमस्थित महादेव खोला क्षेत्रमा सफा गरियो। महादेव खोलाको निलो पुलबाट रातो पुलसम्म भएको सफाइमा सुरक्षा निकायका साथै स्थानीय सङ्घसंस्थाको सक्रियता रहेको थियो। सफाइबाट सात टन फोहर व्यवस्थापन गरिएको अभियानकर्मी शोभाकान्त पाण्डेले जानकारी गराए।

खोलासँगै त्यहाँको सडक क्षेत्रमा पनि सफाइ गरिएको थियो। सो अवसरमा सडकमा फोहर नफाली डष्टविनमा हाल्नसमेत अनुरोध गरिएको थियो। विष्णुमतीको माथिल्लो भागमा सफाइ गरिए पनि तल्लो बालाजुभन्दा तलको क्षेत्रमा नदी फोहर छ। यस क्षेत्रको सफाइमा ध्यान नदिइएको यो मार्ग भएर हिँड्ने यात्रुको गुनासो छ। स्थानीयवासीले सिधै ढल नदीमा हाल्दा पनि कसैले रोक्न सकेको छैन।

अन्य सम्बन्धित समाचार:  एमाले विवाद मिलाउन ५–५ जनाको वार्ता टोली बनाइयो

मनोहरा नदी सफाइको १५४औँ हप्तामा बालकुमारी पुल क्षेत्रमा सफाइ गरियो। सफाइमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललगायत १५० भन्दा बढी अभियानकर्मीको सक्रियता थियो । सफाइबाट दुई गाडी फोहर व्यवस्थापन गरिएको संयोजक चन्द्र दङ्गालले जानकरी दिए।

चक्रपथ उत्तरखण्ड सफाइको १५३औँ हप्तामा नयाँबसपार्कबाट बिजीमलसम्मको क्षेत्रमा सफाइ गरियो। तीन सय जनाभन्दा बढी अभियानकर्मीको सक्रियतामा भएको सफाइबाट चार टन फोहर व्यवस्थापन गरिएको संयोजक लोकबहादुर टण्डनले जानकारी दिए।

स्थानीय श्याम महर्जन महानगरपालिकाका कर्मचारीप्रति व्यवसायी मासिक रु ५०० उठाएर पैदलमार्गमै व्यापार गर्न दिँदा फोहर बढेको बताए। यसरी उठाएको पैसाले जनप्रतिनिधिको मुखसमेतमा बुझो लगाउने गरेकाले बटुवा हिँड्नै नसक्ने गरी व्यापार हुँदासमेत राजधानीको महानगर चुप बसेको उनको गुनासो छ। चक्रपथ पश्चिम खण्ड सफाइको १३५औँ हप्तामा सोल्टदोबाटो क्षेत्रमा सफाइ गरी दुई ट्रक फोहर व्यवस्थापन गरियो। सफाइमा प्रदेशसभा सदस्य राजेश श्रेष्ठसहित ३५० भन्दाबढी अभियानकर्मीको सक्रियता रहेको संयोजक ताराबहादुर कुँवरले जानकारी दिए।