कोरोना भाइरसको प्रभावः नेपालको अर्थतन्त्रमा नकारात्मक असर

काठमाडौँ। चीनमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणले नेपालको अर्थतन्त्रमा पनि नकारात्मक असर देखिन थालेको छ। कोरोनाको सङ्क्रमण फैलिएसँगै नेपाल आउने पर्यटकको सङ्ख्या घटेको छ। भने सामान आयात र निर्यात पनि प्रायः ठप्प जस्तै छ।

नेपालमा प्रयोग हुने अधिकांश दैनिक उपभोग्य सामान चीनबाट नै आयत हुने गरेको छ। चीनले उत्पादन गरेको सामान नेपालमात्र होइन विश्वका जुनसुकै देशमा पुग्ने गरेका छन्। त्यसमा पनि नेपाल चिनियाँ उत्पादन धेरै भित्रिने गरेका छन्। नेपालको कुल वैदेशिक व्यापारमा सबैभन्दा ठूलो हिस्सा भारतको छ। भने दोस्रोमा चीनको छ। ठूलो व्यापार साझेदार चीनसँग आयात निर्यात प्रायm ठप्प भएपछि त्यसको प्रभाव नेपाली अर्थतन्त्रमा पनि देखिएको छ।

सरकारले चालु आर्थिक वर्ष साढे ८ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य राखेको छ। चीनसँगको व्यापारमा आएको समस्याले मुलुकको आर्थिक वृद्धिलाई कसरी असर पार्छ भन्नेबारे अध्ययन भइसकेको छैन। नेपालमा करिब १५ खर्बको वैदेशिक व्यापार हुने गर्छ। त्यसमा चीनको हिस्सा २ खर्ब भन्दा माथि छ।

अन्य सम्बन्धित समाचार:  सरकारले दियो चर्को शुल्क असुल्ने निजी अस्पतालहरुलाई कारबाही गर्ने चेतावनी

अहिले नेपाल र चीनबीच आवतजावत बन्द छ। नेपाल र चीनका सीमा नाका गत जनवरीको दोस्रो सातादेखि ठप्प छ। वतजावतमा प्रतिबन्ध नै लगाइएको छ। चीनसँग सीमा जोडिएका तातोपानी र रसुवागढी नाका बन्द भएको १ महिना भइसकेको बताइएको छ। जसका कारण तेस्रो मुलुक भएर आउने वस्तुहरूको निर्यातमा पनि कमी भएको छ। मूल्यवृद्धि सँगै निर्यात ठप्प हुँदा नेपाली व्यापारीले नयाँ गन्तव्य खोज्नुपर्ने अवस्था आउन सक्ने पनि बताइएको छ।

अहिले चीनबाट नयाँ सामानहरू केही पनि नआएको र पुरानो मौज्दात सामान पनि अन्तिम अवस्थामा रहेकाले सामानको अभाव देखिन थालेको छ। उद्योग नै बन्द रहेकोले कोरोना भाइरस नियन्त्रणमा आएको कम्तिमा ३ महिनापछि मात्र ती सामानहरू ल्याउन सकिने विभागले जनाएको छ। कोरोनाका कारण चीनको आर्थिक वृद्धि २ प्रतिशतमात्र हुने प्रक्षेपण विश्व बैङ्कले गरेको छ। त्यसको असर नेपालमा पनि केही हदसम्म पर्ने जानकारहरू बताउँछन्। कोरोनाको प्रभाव नेपालको अर्थतन्त्रमा एकदेखि दुई प्रतिशतको हाराहारीमा पर्नसक्ने विज्ञहरूको अनुमान छ।

अन्य सम्बन्धित समाचार:  बजेट निर्माण टोलीलाई कोरोना भएपछि कार्य तालिका प्रभावित

विश्वका ५० भन्दा बढी देशमा कोरोनाको सङ्क्रमण फैलिएकाले नेपालमा आउने रेमिट्यान्समा पनि कमी आउन सक्ने देखिन्छ। कोरोनाको सङ्क्रमण फैलिएको कोरियाबाट त्यहाँ रोजगारीमा रहेका नेपालीलाई स्वदेश फर्काउनु पर्ने अवस्था आयो भने देशको अर्थतन्त्रमा प्रभाव पार्ने अर्थविदहरू बताउँछन्।

राजस्व सङ्कलनका प्रमुख क्षेत्रमध्ये एउटा भन्सार हो। व्यापारिक कारोबारमा आउने मन्दीले सरकारको राजस्व असुलीमा पनि प्रभाव पार्छ। चीनबाट सामान आउन छाडेपछि नेपाली बजारमा अहिलेदेखि नै असर देखिन थालेको छ। कोरोना प्रभावकै कारण चिनियाँ पर्यटकको आगमन ठप्प भएपछि नेपाल भ्रमण वर्ष– २०२० मा २० लाख पर्यटक भित्र्याउने सरकारको लक्ष्यमा पनि धक्का पुग्ने देखिन्छ।