नेकपाले बोलायो सचिवालय बैठक

काठमाडौँ। सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले आइतबार बिहान ११ बजे सचिवालय बैठक बोलाएको छ। पछिल्लो समयमा देखिएको पार्टी र सरकारको मतभेद हल गर्न सचिवालय बैठक बोलाइएको हो।

गत बुधवार बसेको सचिवालय बैठकले उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रपतिबाट मनोनित हुने राष्ट्रिय सभा सदस्यमा लैजान सरकारलाई सिफारिस गर्न गरेको निर्णयलाई अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले चुनौती दिएका थिए।

अर्थमन्त्रीसमेत रहेका युवराज खतिवडालाई नै राष्ट्रिय सभामा लैजाने प्रधानमन्त्री ओलीको अडानले नेकपा भित्र विवाद निम्तिएको हो। पार्टीले गरेको निर्णय कार्यान्वयन गर्न सचिवालयका सदस्यहरूले निरन्तर सुझाव दिइरहेका छन्। आज बस्न लागेको सचिवालय बैठकमा पनि प्रधानमन्त्रीलाई पार्टी निर्णय कार्यान्वयन गर्न दबाब दिइने एक सचिवालय सदस्यले बताए।

अन्य सम्बन्धित समाचार:  ४ सांसद र संसदका ३ कर्मचारीमा कोरोना संक्रमण पुष्टि

‘आज सचिवालय बोलाइएको छ, उहाँ आफैँले अध्यक्षता गरेको बैठकले गरेको निर्णय कार्यान्वयन गर्न किन आनाकानी गरेको भनेर प्रश्न सोध्ने हाम्रो तयारी छ।’ ती सचिवालय सदस्यले बताएका छन्। पार्टीभित्र निम्तिएको विवाद समाधानका लागि वरिष्ठ नेता माधवकुमार नेपाल निरन्तर खटिएका छन्।

उनले गौतमलाई राष्ट्रिय सभामा लैजाने र संवैधानिक प्रावधान अनुसार नै खतिवडालाई मन्त्री पदमा निरन्तरता दिएर मध्यमार्गी विकल्प निकाल्न प्रधानमन्त्री ओलीलाई सुझाव दिएका हुन्।