विद्यालय निर्माणका लागि काठमाडौंमा गुञ्जियो नेपथ्य

काठमाडौं। ‘शिक्षाको लागि सङ्गीत’ नाम दिइएको ‘हेल्प नेपाल नेटवर्क’ को आयोजनामा शनिबार नेपथ्यले भृकुटीमण्डप गुन्जयमान बनायो। विद्यालय पूर्ण निर्माणका लागि आयोजना गरेको यस कार्यक्रममा करिव डेढ वर्ष पछि काठमाडौंमा कार्यक्रमको आयोजना भएको हो।

यसअघि २०७५ को भदौमा स्वयम्भूमा ब्यान्ड प्रस्तुत भएको थियो।कार्यक्रमको टिकट खरिदबाट जम्मा भएको सम्पूर्ण रकम दोलखाको भिमेश्वर नगरपालिकास्थित राजकुलेश्वर निम्न माध्यमिक विद्यालयको भवन निर्माणमा गरिनेछ।

कार्यक्रममा ब्यान्डले आफ्नो नयाँ पुरानो गरी दर्जनभन्दा बढी गीत गाए। कार्यक्रममा गायक अमृतले सामाजिक सेवाका काममा सबैजना मिलेर सक्रिय रहनु पर्ने बताएका छन्। त्यस्तै परोपकारी कार्यका लागि पहल गरेकोमा कार्यक्रम मार्फत उनले आयोजकलाई धन्यबाद पनि दिएका थिए।

कार्यक्रममा पुनर्निर्माण गरिने विद्यालय सम्बन्धी भिडियो सामाग्री देखाइएको थियो। मञ्चमा अमृतलाई ड्रमसेटमा ध्रुव लामा, किबोर्डमा सुरज थापा, बेस गितारमा सुविन शाक्य, गितारमा निरज गुरुङ र मादलमा शान्ति रायमाझीले सघाएका थिए।