ताप्लेजुङ समाजको आयोजनामा वृहत पदयात्रा सम्पन्न 

काठमाडौँ। नेपाल भ्रमण वर्ष २०२० को अवसर पारेर काठमाडौंमा ताप्लेजुङबासीको एकता र स्वास्थ्यका लागि ट्रेकिङ भन्ने उद्देश्यसहित आयोजित वृहत पदयात्रा कार्यक्रम’ सम्पन्न भएको छ। ताप्लेजुङ समाज नेपालको आयोजना गरेको पदयात्रा कार्यक्रममा १५ सय बढी पदयात्री सहभागी भएका थिए। 

करिब १५ किलोमिटर दूरीको आयोजित वृहत पदयात्रा कार्यक्रममा’ ताप्लेजुङबासी, विदेशी पर्यटक तथा अन्य जिल्लाका नागरिकहरू सहभागि भएका थिए। शनिबार ताप्लेजुङ समाज नेपालले आयोजना गरेको पदयात्रा बूढानीलकण्ठ मन्दिरबाट सुरु भई मुहानपोखरी, नागी गुम्बा, नारायण डाँडा हुँदै पुनः बूढानिलकण्ठमा आएर समापन भएको थियो। पदयात्रामा ताप्लेजुङबासी, विदेशी पर्यटक तथा अन्य जिल्लाका नागरिकसहित १५ सय बढी पदयात्रीले सहभागी भएका थिए।

पदयात्राको उद्‌घाटन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई र पूर्वमन्त्री गगनकुमार थापाले संयुक्त रूपमा गरेका थिए। उद्घाटनका क्रममा मन्त्री भट्टराईले ताप्लेजुङबासीको एकता र स्वस्थ जीवनशैलीका लागि पदयात्राले महत्त्वपूर्ण भूमिका खेल्ने बताए। उनले मन्त्री हुनु अघिसम्म दैनिकजसो शारीरिक व्यायामका लागि क्लब जाने गरेको स्मरण गर्दै निरन्तर शरीरलाई स्वस्थ राख्न नियमित व्यायाम गर्न सुझाव दिएका छन्।

पूर्वमन्त्री थापाले स्वस्थ रहन पदयात्रा विशेष रहने बताए। आफू पनि समयसमयमा पदयात्राका लागि निस्कने गरेको बताए। ताप्लेजुङबासीको उल्लासमय सहभागितासहित आयोजित पदयात्रा कार्यक्रम उदाहरणीय रहेको बताएका छन्।

बढ्दो सहरीकरण र आलस्य जीवनशैलीबीच स्वतस्फुर्त शारीरिक कसरतको बानी बसाल्न सहयोगी हुने अपेक्षासहित पदयात्रा आयोजना गरिएको कार्यक्रम संयोजक रमेश बरालले बताए। पदयात्रामा ताप्लेजुङ झल्कने भिन्न पर्यटकीय स्थलको फोटो प्रर्दशनी गरिएको थियो।
पदयात्रा कार्यक्रममा सहभागी हरूमध्ये तीनजना पुरुष तथा तीनजना महिला ज्येष्ठ नागरिकलाई सम्मान गरिएको थियो। साथै, पदयात्रामा सहभागी तीनजना प्रकृतिप्रेमी बालबालिकालाई पुरस्कृत गरिएको थियो।

अन्य सम्बन्धित समाचार:  गुल्मीमा चट्याङ लागेर एक जनाको मृत्यु, आठ घाईते