किन हुन्छ घरिघरी जुत्ता प्रहार?

जनतामा निराशाको पहाड चुलिँदो अवस्थामा रहेको छ। सामान्य विकासबाट धेरै टाढा जनता शहरको केही आलिसान महल र चिल्ला गाडी हेरेर मात्र रमाउन सक्ने अवस्थामा छैनन्। सामान्य रोग लाग्दा हेलिकप्टर चार्टड गरेर राजधानी आउन पर्ने नियतिबाट मुक्त नरहेका जनता नेताहरूको राजश्री ठाँट देखेर रुष्ट नहुने कुरै भएन।

हेलिकप्टरमै जन्मदिन मनाउने देखि घरी चितवन पुगेर निमेषभरमै सुकुटेतीर पुग्नेहरुको कारण सदरमुकाम आउन चारघण्टा पैदल हिडँनुपर्ने जनताहरू नेताको शैली र स्वभावबाट खुसी होलान्?

अनि देशको भूगोलभित्र गुमनाम जीवन बाँचेर तुइन वारिपारि रहनुपर्दा जनताको बस्तीमा नपुगीकन नै  हेलिकप्टरमै फन्को लगाएर काठमाडौँ फिर्ने मन्त्री देखेर जनतामा निराशा बढेको होला? अनि उच्च शिक्षा र रोजगारको लागि समेत सपनाको शहर नै धाउनु पर्ने सर्वसाधारणले नेताका छोराछोरीले कस्तो ठाँउमा शिक्षा लिए थाहा पाएका होलान?

हिजो सामान्य हैसियतमा नाङ्गा खुट्टा सिंङमाङमा घिउ बोकेर राजधानी छिरेकाहरू आज करोडौँको गाडी र आलिसन महलमा बसेको पनि जनताले भुलेका होलान् या नहोलान्? त्यसो त केही दिन अघि मात्र नेता बाबुराम भट्टराईले संसद्मा उभिएर ‘हिजो सामान्य हैसियतका हामी आज कसरी लोभलाग्दो जिन्दगीको मालिक भयौं?’ भनेर प्रश्न गरेको पनि करोडौँ जनताले भुलेका छैनन् होला।

सत्तामा आसीनहरू विकासको कोरा कल्पनामा दिउसै कागजमै भएपनि पानीजहाज र रेल सपना देखाएरै जनताको मनभित्र दन्केको आगोलाई मत्थर पार्ने कोसिस गर्छन्। तर जनता यतिमा मात्र सन्तुष्ट होलान? आफू काजु र पेस्तामा डकार्नेहरुले जनताले भुटेको मकै खान नपाँउदा समेत चासो नहुनेहरुप्रति आक्रोशित हुने जनताको सङ्ख्या ठ्याक्कै कति होला?

खोरिया बाँझो राखेर खाडीमा रमाउन देश र नेतालाई दुत्कार्दै बिदाइको हात हल्लाउने युवाले, विकासको नारा दिएर नथाकेका नेता अनि मन्त्री बनेकाहरूलाई कसरी हेर्लान्?

युद्धको घाउका खाटाहरू बोकेर जीवन घिसारी रहेकाहरुको नेताप्रति कस्तो धारणा होला? की पीडाको पहाड बोकेर चुपचाप बाँचेका होलान? अनि परिवारको पेट पाल्नकैलागि शरिर बेच्न बाध्य चेलीहरुको आँसुको श्राप ति नेताहरुलाई लागेको होला ? सामान्य रुघाखोकी लागेर यूरोप अमेरिका उपचार गर्न पुग्नेहरुको चुरीफुरी टुलुटुलु हेरेर मर्न विवश जनताले परिवर्तनकालागि लडेकाहरुलाई के भन्लान्?

सामान्य सिटामोल नपाएर मरिरहेका जनताको लाश देखेर आँसु बगाउने नेता कति होलान्? आँङ ढाक्ने लुगा र भोक टार्ने माडको अभावमा बाँचीरहेका जनताको पीडा सिंहदरवारभित्रको बन्द पर्खाल छिचोलेर पुग्न सकेन् भन्छन् जनता। बाहिर राष्ट्रबादी कूरो गरेर नथाक्ने भित्रभित्रै देशमाथि धोका दिदैं राज्य लुट्नेहरुको सङ्ख्या कति होला?

करोडौँको सेटिङमा दुधको साँची बिरालो शैलीमा मौनता साँधेर बस्नेहरुको उदेकलाग्दो दुश्य हेर्न विवश छन् जनता। रोग,भोकमा थलिएर शोकै शोकमा बाँचेका जनताको असन्तुष्टि नेतामाथि यसरी नै कहिल्यकाहीँ थप्पड, कहिल्यकाही कुर्सी अनि जुत्ता प्रहार बनेर पोखिएपछि मात्र शान्ता होला?

आइतवार काठमाडौंमा भएको एक कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि जुत्ता प्रहार हुनु राम्रो पक्ष भने थिएन। नेकपा नेता भरतमोहन अधिकारीको प्रथम स्मृति सभालाई संबोधन गर्ने क्रममा प्रचण्डलाई प्रहार गरिएको जुत्ताले भलै निशाना नचुमेपनि जुत्ता प्रहार गर्नुको कारण जनयुद्धमा आफ्ना बाबु गुमाउनु पर्दाको पीडा भएको प्रतिक्रिया सशस्त्र द्वन्द्वमा ज्यान गुमाएका माओवादी पूर्व कार्यकर्ता मानबहादुर तिरुवाका छोरा रतन तिरुवाले बताए। “प्रचण्डले भाषणको क्रममा वर्गसंर्घषको कूरा गर्दा सहन नसकेर जुत्ता प्रहार गरे।” उनले भनेका छन्।

त्यसो त जनता वा कार्यकर्ताबाट नै जुत्ता हानिएका प्रचण्ड एक्ला नेता हैनन्। यसअघि पनि अमेरिकी राष्ट्रपति जर्ज डव्ल्यू बुसमाथि ईराकमा भएको जुत्ता प्रहार होस् या काठमाडौंको भुकुटी मण्डपमै यसअघि उनै प्रचण्डमाथि पदम कुवँरले हानेको थप्पड! “नेपाली जनताले बिर्सेका छैनन् होला”।