अस्पताल भर्ना हुनुअघि ओली ऐतिहासिक निर्णय गर्दै

काठमाडौँ। दोस्रोपटक मिर्गौला प्रत्यारोपणका लागि आज (सोमबार) त्रिवि शिक्षण अस्पताल भर्ना हुनुअघि प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्ध नेपाल र सुखी नेपालीका लागि ऐतिहासिक निर्णय गर्ने भएका छन्।

उनले अहिले बिहान ९ बजेपछि बालुवाटार स्थित प्रधानमन्त्री निवासमा बस्ने राष्ट्रिय योजना आयोगको १५औं पूर्ण बैठकको अध्यक्षता गर्ने भएका हुन्। प्रधानमन्त्री ओली आयोगका अध्यक्ष हुन्। यसमा राष्ट्रिय योजना आयोगको टिम, अर्थमन्त्री, मुख्य सचिव, अर्थ सचिवलगायत ८ सदस्य छन्। यो बैठकले समृद्धि र सुखका विषयमा ऐतिहासिक निर्णय लिने राष्ट्रिय योजना आयोगका प्रवक्ता मीनबहादुर शाहीको दाबी छ।

यो बैठकले नेपाललाई अल्पविकसित राष्ट्रबाट मध्यम आयस्तर भएको मुलुकमा परिणत गर्न महत्वपूर्ण निर्णय गर्ने प्रवक्ता शाहीले बताएका छन्। उनका अनुसार यो १५औं बैठकले समृद्धिका चार र सुखका ६ परिभाषा गर्दै त्यो प्राप्तिका लागि नीतिगत निर्णय गर्नेछ। दिगो आर्थिक विकासमा जोड दिँदै यो बैठकले योजना पास गर्ने उनको भनाइ छ।

अन्य सम्बन्धित समाचार:  प्रधानमन्त्री ओलीले बोलाए संवैधानिक परिषद् बैठक

नेपालको आर्थिक विकास र समृद्धिका लागि यो अहिलेसम्मकै ठूलो र परिवर्तनकारी नीतिगत निर्णय हुने उनको दाबी छ। बैठक सकेर प्रधानमन्त्री ओली मिर्गौला प्रत्यारोपणका लागि त्रिवि शिक्षण अस्पताल जाने उनको निजी सचिवालयले जनाएको छ।