संरक्षणको पर्खाइमा कपिलबस्तुको शङ्करपुर ताल

कपिलबस्तु। कपिलबस्तुको शङ्करपुर ताल पर्यटकीय महत्व बोकेको ताल हो। यसको जति प्रचार प्रसार हुन पर्ने हो सो अनुसार हुन सकिरहेको छैन । तालको संरक्षण गर्न नसक्दा यसको क्षेत्रफलसमेत दिन प्रतिदिन घट्दै जान थालेको गुनासो स्थानीयवासीको छ।

आदिवासी थारु, मधेशीको ऐतिहासिक, साँस्कृतिक, सामाजिक, कृषि तथा आर्थिक पक्षसँग जोडिएको यो तालको क्षेत्रफल करिब ५० बिघा क्षेत्रफलमा फैलिएको छ।

जैविक महत्व बोकेको यो तालमा विभिन्न प्रजातिका जलचरको बसोबास छ। जिल्ला सदरमुकाम तौलिहवाबाट ६० किलोमिटर पश्चिममा अवस्थित शिवराज नगरपालिका र पूर्वपश्चिम राजमार्गदेखि करिब ७÷८ किलोमिटरको दूरीमा रहेको यो ताल विजयनगर गाँउपालिका–४ मा पर्दछ। यो प्राकृतिक सिमसार ताल हो।

पुर्खाहरुको भनाइअनुसार यो पुस्तौँ पुरानो ताल हो। जैविक विविधतामध्ये यो तालमा सबैभन्दा बढी प्रजातिका स्थानीय रैथाने माछाहरु पाइन्छन्। प्रारम्भिक अध्ययनअनुसार शङ्करपुर सिमसार क्षेत्रमा स्थानीय जातका विकासी माछा, चरा, किरा, भ्यागुता, सर्प र कछुवा सहित विभिन्न २१ जातका स्थानीय वनस्पति पाइन्छन्। शङ्करपुर तालमा पाइने मुख्य चराहरुमा बकुल्ला, जलेवा, पानीहाँस रहेका छन्।

शङ्करपुर ताल पर्यटन गन्तव्य क्षेत्र बन्ने प्रचुर सम्भावना छ। वरिपरि मावन बस्ती रहेको तालमा फोहर फाल्न, सुत्केरी तथा महिनावारी भएका महिलाले नुहाउन तथा लास जलाउन निषेध गरिएको छ।

परापूर्वकालमा यस क्षेत्रमा देवीको आश्रयस्थल रहेको र देवीले देवताहरुलाई जम्मा गरेर ताल खन्न लगाएको कथा सुन्न पाइन्छ। देवीलाई गर्मी भएकाले नुहाउन ताल खनिएको बताइन्छ। तालमा आसपासका स्थानीयवासीहरु माछा मार्न र साग टिप्न आउने गर्छन्।

तालको संरक्षण धार्मिक आस्थाको रूपमा भए पनि तालको क्षेत्रफल भने मानवीय र प्राकृतिक कारणले घट्दै गएको छ। तालको किनारमा तटबन्ध नगरिँदा तालमा माटो भाँसिदै गएको छ। अहिले वर्षाको समय बाहेक तालमा पानी ४० प्रतिशत मात्र हुन्छ। तालमा पानी नहुँदा तालको बगर स्थानीय युवाहरुका लागि खेलमैदान र गौचरणमा परिणत भएको छ।

तालमा माछापालन व्यवासाय गरेर स्थानीयवासीहरुले मनग्य आम्दानी गरेका छन् तर ताललाई ठेक्कामा दिएर माछापालन गर्ने बाहेक कुनै काम गरिएको देखिँदैन। तालको प्रचार प्रसार नहुँदा आन्तरिक र बाह्य पर्यटक त्यहाँ पुग्न सकेका छैनन्।

आसपासका गाउँका युवायुवतीका लागि वनभोज स्थल मात्र बन्ने गरेको यस ताललाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न सके धेरै आन्तरिक र बाह्य पर्यटक भित्र्याउन सकिने स्थानीय पर्यटन व्यवसायी बताउँछन्। नजिकको तीर्थ हेला भनेझैँ कपिलवस्तुकै स्थानीय निकायले पनि तालको प्रचारप्रसार र संरक्षणमा प्रभावकारी कार्यक्रम ल्याउन सकेका छैनन।

संरक्षणको पहल
पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण शङ्करपुर तालमा पर्यटन प्रवद्र्धनका लागि विजयनगर गाउँपालिकाले पहल गर्ने जनाएको छ। तालमा पर्यटन प्रवद्र्धनका लागि रु ४५ करोडको बृहत् कार्य योजना निर्माण भइरहेको छ।

गत आर्थिक वर्ष गाउँपालिकाको रु २० लाखबाट तालको विकासका लागि खर्च गरिएको थियो। त्यस्तै चालू आर्थिक वर्षमा रु ४० लाखको काम भइरहेको गाउँपालिकाका अध्यक्ष गोपाल थापाले बताए। ताल संरक्षणका लागि आगामी दिनमा कृषि र पर्यटन महोत्सवको आयोजना गर्ने योजनाका साथ अघि बढेको उनको भनाइ छ।

तालको संरक्षणका लागि स्थानीय सरकारले भौतिक पूर्वाधारको विकास गर्ने जनाएको छ। अध्यक्ष थापाका अनुसार चालू आर्थिक वर्षमा वनभोज स्थल, सडक र पानी निकासका लागि कुलो निर्माण गर्ने योजना रहेको छ। त्रिपालनगरका कृषकहरुलाई सिँचाइ गर्न तालसम्म जोड्ने कुलो निर्माण गर्ने बताइएको छ।

ताल संरक्षणका लागि गाँउपालिकाको रोहबरमा व्यवस्थापन समिति निर्माण गरी वनभोजस्थल, प्रतीक्षालय र ताल वरिपरि पैदल मार्ग निर्माण गरिने छ। गाउँपालिकाले अन्य सम्भावित पर्यटकीयस्थलको विस्तृत वृत्तचित्र र ‘ब्रोसर’ तयार गरी प्रचारप्रसार थालेको छ। तालको अवलोकन गर्न आउने पर्यटकका लागि चारवटा डुङ्गा निर्माण गरिरहेको स्थानीयवासी हविलाल पुनले बताए।

धार्मिक महत्व बोकेको शङ्करपुर ताल एक किलोमिटर क्षेत्रभित्र फैलिएको छ। तालको गहिराइ हालसम्म मापन गर्न सकिएको छैन।

सङ्कटमा ताल

तालको संरक्षण तथा प्रचारप्रसारका लागि केन्द्रिय सरकार र प्रदेश सरकारबाट कुनै पनि पहल नभएको पाइएको छ। केन्द्र र प्रदेशका मन्त्रीहरुले पटकपटक अवलोकन गरे पनि कुनै पहल नगर्दा विकास गर्न कठिनाइ भएको स्थानीय अगुवाहरुले बताएका छन।

महाभारतको चुरे क्षेत्रबाट विभिन्न फोहर पदार्थ तथा वनबाट आएको पानीको फोहर तालमा जम्मा हुँदै गएको छ। तालको वरिपरि बिरुवा उम्रिएर पनि ताल दिन प्रतिदिन साँघुरिँदै गएको छ। पुर्वपश्चिम राजमार्गबाट तालसम्म पुग्न गाडीमा करीब आधा घण्टा लाग्छ।

नहान र मोहर्रम मेला

तालको पश्चिम किनारामा परापूर्वकालदेखि हिन्दूहरुको नहान मेला लाग्दै आएको छ। साविकको पत्थरदेइया, गुगौली, खुरुहुरीया गाविसको मुख्य मेला लाग्ने स्थलका रूपमा शङ्करपुल ताल परिचित छ। नहान मेलामा स्थानीय भक्तजनहरुले सोही तालमा नुहाउने र गौ दान गर्ने गरेको अहिले पनि पाइन्छ।

त्यस्तै सोही स्थानमा हिन्दु तथा मुसलमानले मनाउने मोहर्रमको मेलासमेत लाग्ने गरेको छ। मोहर्रम मेलामा ताहजिया सेलाउने गरिन्छ। सदीऔँदेखि यहाँका हिन्दू तथा मुसलमानहरुले सो स्थानलाई मेलाको आयोजना गरी संरक्षण गर्दै आएका छन।