कोरोना : मृत्यु हुनेको संख्या ३ हजार नाघ्यो, ८९ हजार बढी संक्रमित

कोभिड–१९ (कोरोना भाइरस) बाट विश्वभर मृत्यु हुनेको संख्या ३ हजार नााघेको छ। सोमबार दिउँसोसम्मको तथ्यांकअनुसार भाइरसबाट मृत्यु हुनेको संख्या ३ हजार ४८ पुगेको हो।

चीनको वुहानबाट गत डिसेम्बरदेखि फैलिएको कोभिड–१९ अहिलेसम्म ७३ देशमा देखा परेको पुष्टि भएको छ। यद्यपी ७ देशमा अहिले कुनै पनि यसका संक्रमित नरहेको बताइएको छ। हालसम्म विश्वभर ८९ हजार ७४ जनामा भाइरस संक्रमण पुष्टि भएको छ। जसमध्ये ४५ एक सय ६३ पूर्ण रूपमा निको भई घर फर्केका छन् भने ४० हजार ८ सय ६३ को उपचार भइरहेको छ।

चीनमा संक्रमण दर घट्यो
कोभिड–१९ को केन्द्र चीनमा संक्रमण दर घटेको छ। दिनहुँ हजारौँमा नयाँ संक्रमण पुष्टि भइरहेको चीनमा अहिले संक्रमण दर घटेको हो। सोमबार २०२ जना नयाँ संक्रमित थपिएको चीनका स्वास्थ्य अधिकारीले पुष्टि गरेका छन्। त्यस्तै थप ४२ जनाको संक्रमणका कारण ज्यान गएको चिनियाँ सञ्चारमाध्यम सिन्ह्वाले उल्लेख गरेको छ।

यससँगै भाइरसबाट चीनमा मात्र मृत्यु हुनेको संख्या २ हजार ९ सय १५ पुगेको छ । त्यस्तै चीनमा भाइरस संक्रमित हुनेको संख्या ८० हजार १ सय ७४ पुगेको अधिकारीहरुले जनाएको छन् ।

दक्षिण कोरियामा संक्रमण तीव्र
चीनपछि दक्षिण कोरियामा कोभिड–१९ संक्रमित संख्या बढी छ। पछिल्लो समय चीनभन्दा कोरियामा संक्रमण तीव्र भइरहेको छ। सोमबार लगभग ५ सय जनामा नयाँ संक्रमण पुष्टि भएको अलजजिराले उल्लेख गरेको छ। यससँगै अहिलेसम्ममा ४ हजार २ सय १२ जनामा संक्रमण पुष्टि भइसकेको छ। यसैगरी २६ संक्रमणका कारण मृत्यु भइसकेको छ।

अन्य सम्बन्धित समाचार:  मोटोपनले गर्दा चिन्तामा हुनुहुन्छ? मोटोपनको एउटै मात्र उपचार

थेगु सहरको एक चर्चबाट दक्षिण कोरियामा भाइरस संक्रमण फैलिएको थियो। भाइरस संक्रमण तीव्र रूपमा फैलिएपछि उक्त चर्चका पास्टरले आफूलाई पश्चाताप भएको बताएका छन्।
यसैबीच स्थानीय सरकारले सिन्चन्ची चर्चका संस्थापक ली मान ही र अन्य ११ विरुद्ध मुद्धा दर्ता गर्न निर्देशन गरेको छ । उनीहरुलाई आफू भाइरस संक्रमित भएको कुरा लुकाएको आरोप लगाइएको छ।

आइतबार सोउलको स्थानीय सरकारले उक्त सम्प्रदायका १२ नेताविरुद्ध कानुनी अभियोग लगाउन आवश्यक कदम चालेको थियो । उनीहरूविरुद्ध हत्या र सरुवा रोग तथा नियन्त्रण गर्न बनाइएको छुट्टै कानुनअन्तर्गत कारबाही सुरु गरिएको हो।

इरानमा मृत्यु हुनेको संख्या ५४ पुग्यो
इरानमा अहिलेसम्म ५४ जनाले संक्रमणका कारण ज्यान गुमाएका छन्। यस्तै अहिलेसम्म ९७८ जनामा संक्रमण पुष्टि भइसकेको छ।

कुवेतमा १० जना संक्रमित थपिए
कुवेतको स्वास्थ्य मन्त्रालयले सोमबार १० जना नयाँ संक्रमित थपिएको पुष्टि गरेको छ। यससँगै संक्रमित हुनेको संख्या ५६ पुगेको छ।
राष्ट्रिय टेलिभिजन मार्फत स्वास्थ्य अधिकारीले फैलिदो संक्रमण नियन्त्रणका लागि भीडभाडमा नजान आफ्ना नागरिकलाई आग्रह गरेको छ।

अन्य सम्बन्धित समाचार:  नेपाललाई आत्मनिर्भर, स्वाधीन र सुन्दर देश बनाउने सपना छः विप्लव

युरोपमा संक्रमण बढ्दो
युरोपको इटलीमा सबभन्दा बढी संक्रमित रहेका छन्। सोमबारको तथ्यांकअनुसार इटलीमा १ हजार ६ सय ९४ जनामा संक्रमण पुष्टि भएको छ। यस्तै ३४ जनाले ज्यान गुमाइसकेका छन्।

यसैगरी फ्रान्समा १ सय ३० जनामा संक्रमण पुष्टि भएको छ। फ्रान्समा २ जनाले संक्रमणका कारण ज्यान गुमाइसकेका छन्। जर्मनीमा १३० जनामा संक्रमण पुष्टि भएको छ। यस्तै स्पेनमा ८४, बेलायतमा ३६ तथा स्वीजरल्यान्डमा २७ जनामा संक्रमण रहेके पुष्टि भएको छ। यसैगरी डेनमार्कमा पनि ४ जनामा संक्रमण पुष्टि भएको छ।

अमेरिकामा दोस्रो व्यक्तिको मृत्यु
अमेरिकाको किङ काउन्टीमा भाइरसका कारण दोस्रो व्यक्तिको ज्यान गएको छ। सेटल तथा किङ काउन्टी जनस्वास्थ्यले प्रकाशित गरेको विज्ञप्तिअनुसार ७० वर्षीय व्यक्तिको ज्यान गएको हो। उनको शनिबार किर्कल्यान्डमा अवस्थित इभरग्रीन हेल्थ हस्पिटलमा उनको मृत्यु भएको थियो।

यसअघि आइतबार फ्लोरिडामा एक संक्रमितको ज्यान गएको थियो। अहिलेसम्म अमेरिकामा ८६ जनामा संक्रमण पुष्टि भइसकेको छ।