काठमाडौँ। थारुहट–थारुवान राष्ट्रिय मोर्चाले आह्वान गरेको आमहड्तालका कारण तराईको जनजीवन ठप्प भएको छ। कैलाली, कञ्चनपुर, बर्दिया, बाँके, दाङ सहितका तराईका जनजीवन ठप्प भएको हो।
बन्दका कारण सुदूरपश्चिम प्रदेशको राजधानी पनि प्रभावित भएको छ। बन्दका कारण धनगढीबाट चल्ने लामो तथा छोटो दूरीका सवारी साधन ठप्प भएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ। बन्दले बजार, शिक्षण संस्था पनि पुरै बन्द छन्।
यातायातका साधन नचल्दा भारत लगायत विभिन्न ठाउँबाट आएका यात्रु धनगढीमा अलपत्र परेका छन्। बन्दको पूर्व सन्ध्यामा मोर्चाले तराईको विभिन्न जिल्लामा मसाल जुलुस प्रदर्शन समेत गरेको थियो। यसैबीच प्रहरीले कञ्चनपुरबाट १ जनालाई नियन्त्रणमा लिएको छ।सोमबार साँझ प्रदर्शनको क्रममा सञ्जय रानालाई प्रहरीले नियन्त्रणमा लिएको मोर्चाले जनाएको छ। सरकारसँग १४ बुँदे माग राख्दै आन्दोलनरत मोर्चाले सरकारलाई दबाब दिन फागुन २० र २१ गते आमहड्तालको घोषणा गरेको हो।
आमहड्ताल अवज्ञा गरी सवारी साधन चलाएमा उत्पन्न हुने परिस्थितिको सम्पूर्ण जिम्मेवारी नेपाल सरकार र स्वयम् रहने पनि मोर्चाले चेतावनी दिएको छ। आमहड्तालको समयावधिमा अतिआवश्यक सवारी साधनहरू, दमकल, एम्बुलेन्स, शव बाहन, सुरक्षा निकाय, दूध बोक्ने साधन, औषधीजन्य सवारी, रेडक्रस, मानव अधिकारकर्मी, पर्यटक, पत्रकार, कूटनीतिक नियोगका सवारी साधनहरू भने निर्वाध रुपमा सञ्चालन हुन पाउने मोर्चाका कैलाली संयोजक माधव थारूले जानकारी दिए।
रेशम चौधरीसहित ११ जना जेलबन्दीको रिहाइ गर्नुपर्ने, टीकापुर घटनाबारे सत्यतथ्य छानबिन गर्न पूर्व न्यायाधीश गिरिशचन्द्र लाल नेतृत्वको न्यायिक समिति, गृह मन्त्रालयद्वारा गठित अनुसन्धान विभागका पूर्व प्रमुख देवीराम शर्माको संयोजकत्वमा गठित छानबिन समितिको प्रतिवेदन र सर्वदलीय संसदीय समितिको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने लगायत माग राख्दै मोर्चा फागुन १ देखि आन्दोलनमा छ।
आन्दोलनमा आदिवासी जनजाति महासङ्घ, मिसन अम्बेडकर नेपाल, खसान सङ्घर्ष समिति, खम्बुवान राष्ट्रिय मोर्चा, सङ्घीय लोकतान्त्रिक मञ्च, नेपाल राष्ट्रिय पार्टी, संयुक्त खस क्षेत्री नेपाललगायत सङ्घ संस्थाले ऐक्यबद्धता जनाएका छन् ।