अदालतमा हाजिर हुँदै सिद्धबाबा

काठमाडौँ। बलात्कारको अभियोग लागेका सिद्धबाबा भनिने कृष्णबहादुर गिरी आज अदालतमा हाजिर हुने भएका छन्। उनी भारतबाट फर्केर अदालतमा हाजिर हुन लागेको सहयोगी भरत सापकोटाले जानकारी दिएका छन्।

सापकोटाका अनुसार सिद्धबाबा उपचारका लागि गएका थिए। र उनी अदालतको म्याद अगावै हाजिर हुँदै छन्। अदालतमा भोलिसम्म हाजिर हुने म्याद भएता पनि  चतराधामका सिद्धबाबाका समर्थकहरू अदालतमा हाजिर हुनुअघि पुगिसकेका बताइएको छ।

यसअघि उच्च अदालत विराटनगरको थुनामा राख्ने फैसला आउनुअघि सिद्धबाबा ९ माघमा भारततर्फ लागेका थिए। उनको निगरानीका लागि राखिएको सुरक्षाकर्मीलाई छाडेर जोगवनी हुँदै बेपत्ता भएका थिए। उनी बेपत्ता भएकै दिन उच्च अदालत विराटनगरले जिल्ला अदालत सुनसरीको धरौटीमा रिहा गर्न गरेको फैसला उल्टाउँदै पुर्पपक्षका लागि थुनामा राख्ने आदेश दिएको थियो।

अन्य सम्बन्धित समाचार:  नेपाल विकासशील राष्ट्रमा स्तरोन्नतिका लागि सिफारिश

अनुयायी माथि ४ कात्तिकमा सुनसरीको चतरा स्थित आश्रममै बलात्कार गरेको अभियोग लगाइएको छ।  दुई बालककी आमा ती महिलाले गिरीमाथि आरोप लगाएपछि उनी सङ्कटमा परेका थिए। महिलाले गिरीमाथि गत पौष महिनामा किटानी जाहेरी दिएकी थिइन्।

बलात्कारको अभियोग लागेका गिरीलाई धरौटीमा छाड्ने सुनसरी जिल्ला अदालतको फैसला उच्च अदालत विराटनगरले बदर गरिदिएको थियो। ९ माघमा मुख्य न्यायाधीश तिलप्रसाद श्रेष्ठ र प्रेमराज कार्कीको संयुक्त इजलासले जिल्ला अदालतको आदेश बदर गरी पुर्पपक्षका लागि थुनामा राख्ने फैसला गरेको थियो।

सिद्धबाबाले आफूलाई एक महिलाले नियोजित रुपमा फसाउन खोजेको दाबी गर्दै आएका छन्। उनले आफू ब्रह्‍मचारी भएको र महिलाप्रति उच्च सम्मान गर्ने बताएका छन्। तर, बलात्कारको आरोप लगाउने महिलाले सिद्धबाबाले आफूमाथि कात्तिक ४ गते आश्रममै बलात्कार गरेको आरोप लगाएर सजाय दिलाएरै छाड्ने बताएकी छिन्।