काठमाडौँ। राष्ट्रिय सभाका एकतिहाइ सदस्यको पदावधि आज सकिँदैछ। राष्ट्रिय सभाका सदस्यको बिदाइ हुने दिन भएकाले बुधवारको बैठक भावुक बनेको छ। राष्ट्रियसभा बैठकको शून्य समयमा बोल्ने सांसदले बिदाइ हुन लागेका सांसदलाई राजनीतिक भविष्यको शुभकामना दिइरहेका छन्।
सांसद कोमल वलीको राष्ट्रियसभा बैठकमा कविता वाचन गरेर सुनाएकी छन्। राष्ट्रिय सभाबाट बिदा हुन लागेका माननीयहरूको सम्मानमा कविता समर्पित गर्दैछु शुभकामना सहित उनले कविता वाचन गरिन।
समय छिट्टै बिते जस्तो लाग्छ
वास्तवमा समय बित्दैन
समय बित्दैन
समयले हामीलाई बिताउँछ
हो हामी बितिरह्यौ समयका भ्रममा
समयका क्रममा होइन, समयका भ्रममा
यो राष्ट्र रङ्गाउने कैयौँ रङ्ग थपेर बितेका छौँ
यो राष्ट्र हँसाउने कैयौँ हिसी फुलाएर बितेका छौँ
एउटै आकाङ्क्षा बोकेका हामी
एउटै प्रतिबद्धता लिएका हामी
हामी राष्ट्र विकासका अथकित अभियन्ता
हामी जहाँ छौँ देश काँधमा बोकेर रहन्छौँ
प्राविधिक जोड घटाउको यो व्यवस्थामा
यतिबेला समयले बिदा गर्दैछ
यो बिदाइले हामीलाई छुट्याउन सक्ने छैन
हामीलाई जिम्मेवारीबाट टाढा राख्न सक्ने पनि छैन
हृदयमा राष्ट्र बोकेका हामी
देश दुख्दा सँधै दुख्ने छौँ
देश निर्माणको अभियानमा हाम्रो जीवन पर्यन्तको अभियान हुनेछ
त्यसैले देशका नाममा हामी सँधै साथमा रहने छौँ
साथीहरू, यो प्राविधिक जोडघटाउको कथित बिदाइ
हाम्रा लागि समयको केवल सानो धृष्टता मात्र बन्नेछ