काठमाडौँ। राष्ट्रियसभामा निर्वाचित नयाँ सदस्यले बुधबार पद तथा गोपनियताको शपथ लिँदै छन्। नयाँ बानेश्वरस्थित सङ्घीय सांसद भवनमा दिउँसो १२-१५ बजे शपथको कार्यक्रम राखिएको छ।
राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले उनीहरूलाई शपथ गराउनेछन्। सदस्यहरू इन्दिरादेवी गौतम, गोपीबहादुर सार्की अछामी, देवेन्द्र दाहाल, तुलसाकुमारी दाहाल, राधेश्याम पासवान, शेखरकुमार सिंह, मृगेन्द्रकुमारसिंह यादव, गङ्गाकुमारी बेल्बासे, वेदुराम भुसाल, भगवती न्यौपाने, नारायणकाजी श्रेष्ठ, विमला घिमिरे, जगप्रसाद शर्मा, गोपाल भट्टराई, सुमित्रा बीसी, मायाप्रसाद शर्मा, शारदादेवी भट्ट र तारामान स्वाँरले शपथ लिन लागेका सांसद सचिवालयले जनाएको छ।
निर्वाचित सदस्यहरूले आजदेखि औपचारिक रुपमा जिम्मेवारी पाउनेछन्। राष्ट्रिय सभामा रहेका एक तिहाइको कार्यकाल दुई वर्षमा सकिने संवैधानिक प्रावधानअनुसार रिक्त हुने स्थानका लागि गत माघ २४ गते निर्वाचन भएको थियो।
राष्ट्रियसभाका एकचौथाइ सदस्य अर्थात् १९ जना सांसदको दुईवर्षे कार्यकाल गएरातिदेखि सकिएको छ। पदावधि सकिनेमा प्रदेश १ बाट सरिता प्रसाईं, हरिशरण शिवाकोटी, प्रदेश २ बाट रमेशप्रसाद यादव, मुक्ताकुमारी यादव, प्रदेश ३ बाट बलरामप्रसाद बाँस्कोटा, धनकुमारी खतिवडा, गण्डकी प्रदेशबाट सुरेन्द्रराज पाण्डे, बिन्दादेवी आले, प्रदेश ५ बाट मीना बूढा, दुर्गाप्रसाद उपाध्याय, कर्णाली प्रदेशबाट युटोल तामाङ, कालीबहादुर मल्ल, सुदूरपश्चिम प्रदेशबाट बद्रीप्रसाद पाण्डे, कमलाकुमारी ओली रहेका छन्। त्यस्तै, खेमराज नेपाली, रामप्रित पासवान, राजकुमार कुँवर, वृषेशचन्द्रलालको पनि पदावधि सकिएको छ।