कोरोना भाइरसको त्रास: कांग्रेसले कुनै सभा सम्मेलन नगर्ने

काठमाडौँ।प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले कोरोनाभाइरसका कारण आन्तरिक भेला, सम्मेलन अर्को सूचना जारी नभएसम्मका लागि नगर्न मातहतका निकायलाई निर्देशन दिएको छ।

कांग्रेसले पार्टीको १४ औं महाधिवेशन तयारीका आन्तरिक कार्यक्रमहरु भने सम्बन्धित समितिले जारी राख्ने जनाएको छ। कांग्रेस प्रचार विभाग प्रमुख तथा प्रवक्ता विश्वप्रकाश शर्माले पत्रकार सम्मेलन गर्दै यस्तो जानकारी गराएका हुन्।

यस्तो छ कांग्रेसको विज्ञप्तिः
२१ फाल्गुण, २०७६

तत्कालका कार्यक्रमहरु स्थगित, गाउँसम्म सतर्कता अभियान

आदरणीय पत्रकार साथीहरू,

नेपाली काङ्ग्रेस केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा म यहाँहरूलाई हार्दिक स्वागत गर्दछु।

१. विश्वव्यापी रुपमा सङ्क्रमण फैलिइरहेको प्राण घातक कोरोना भाइरस (कोबिड १९) बारे ‘सरकार र समुदायका नाममा नेपाली काङ्ग्रेसको १४ बुँदे अपील’  फागुन १९ गते पार्टीको सूचना, सञ्चार तथा प्रचार विभागले सार्वजनिक गरेको यहाँहरूलाई विदितै छ। विश्व स्वास्थ्य सङ्गठनले नेपाललाई समेत उच्च जोखिम रहेको राष्ट्र भनेर सतर्क गराइसकेको स्थितिमा हाम्रा सबै प्रयासहरू जोखिम सामना गर्ने दिशामा सम्पूर्ण रुपले केन्द्रित गर्नुपर्ने भएको छ।

२. सरकारी लापरबाही र ढिलासुस्तीका कारण कोरोनाको सङ्क्रमण भित्रिन या फैलिन सक्ने खतरालाई गम्भीर रूपले लिएर सरकारलाई एकतर्फ हामी खबरदारी गरिरहेका छौँ भने अर्कातर्फ यो जोखिम सामना गर्ने साझा राष्ट्रिय अभियानमा सरकारलाई नेपाली काङ्ग्रेसको सम्पूर्ण साथ रहनेछ। सरकार र सम्बन्धित निकायहरूले जोखिम सामना गर्न निर्माण गर्ने रणनीतिको पालना र कार्यान्वयनमा सबैलाई साझा दायित्वबोध साथ आत्मसात गर्न हामी हार्दिक अपील गर्दछौँ।

३.त्रिभुवन विमानस्थल मार्फत सङ्क्रमण प्रवेशको खतरालाई अझ कडाइ गर्न र थल मार्गबाट निर्वाध जारी आवागमनमा आवश्यक कडाइ गर्दै नाकाहरूमा स्वास्थ्य जाँचको केन्द्र तत्काल भरपर्दो स्थापना गर्न सरकारलाई पुनः अपील गर्दछौँ।

४. विश्व स्वास्थ्य सङ्गठनले गराएको सचेतता, नेपाल सरकारको आग्रह एवं जोखिमसँग राख्नुपर्ने सतर्कतालाई दृष्टिगत गरेर नेपाली काङ्ग्रेस पार्टी एवं पार्टीसँग आवद्ध संस्थाहरूका सबै तहका ठूला भेला, सम्मेलन र सभा लगायतका कार्यक्रम आजकै मितिबाट लागू हुने गरी अर्को सूचना नगरिए सम्मलाई स्थगित गरिएको छ।

५. तर पार्टीको १४ औं महाधिवेशन तयारीका आन्तरिक कार्यक्रमहरू (बाँकी समायोजन एवं क्रियाशील सदस्यता नवीकरण र वितरण लगायत) सम्बन्धित समितिमार्फत जारी रहनेछ।

६. कोरोना सङ्क्रमणका बारेमा ‘शहरदेखि गाउँसम्म र गाउँको टोल हुँदै घरघरसम्म’ सतर्कता र चेतनाको अभियान पार्टी र आवद्ध संस्थाहरुमार्फत विविध ढंगले अघि बढाइने निधो गरिएको पनि सार्वजनिक रूपले सूचित गर्दछौँ।

जय नेपाल!
विश्वप्रकाश शर्मा
प्रवक्ता
एवं
प्रमुख—सूचना, सञ्चार तथा प्रचार विभाग
नेपाली काङ्ग्रेस

अन्य सम्बन्धित समाचार:  प्रचण्डपछि ओलीलाई भेट्न बालुवाटार पुगे वामदेव