कोरोनाबाट बच्न ‘हात नमिलाउने, नमस्कार गर्ने’, “नेपाल पनि उच्च जोखिममा” 

विराटनगर। नोबेल कोरोना भाइरस(कोभिड–१९) बाट बच्न ‘हात नमिलाउन र नमस्कार गर्न’ बानी बसाल्न सुझाव दिइएको छ। चीनबाट फैलिएको यो भाइरस अहिले विश्वका ७२ वटा देशमा देखिएका छन् भने नेपाल पनि उच्च जोखिममा रहेको विश्व स्वास्थ्य सङ्गठन प्रतिवेदनमा रहेको चिकित्सकले जानकारी दिएका छन्।

ज्वरो आउने, हाछ्यूँ आउने र श्वासप्रश्वासमा समस्या देखिने भाइरसका कारण मानिसको ज्यान जान सकिने भएकाले विशेष सतर्कता अपनाउन चिकित्सकले सुझाव दिएका हुन्।

अहिलेसम्ममा चीनमा ८० हजार ३०४ मा सङ्क्रमण देखिएको, दुई हजार ९४६ को ज्यान गएको छ भने चीन बाहिर ७२ देशमा गरी १० हजार ५६६ मा सङ्क्रमण देखिएको र १६६ को ज्यान गएको डा सुरेश मेहताले जानकारी दिए।

अन्य सम्बन्धित समाचार:  पशुपतिमा जलहरी राखिसकेपछि सर्वोच्चले भन्यो–जलहरी नराख्नू
सङ्क्रमण भएको खण्डमा कस्तो अवस्था हुन्छ?

यो सङ्क्रमण हुने मानिसमा ८० प्रतिशत सामान्य रहन्छन् भने २० प्रतिशतमा कडा खालको लक्षण देखिने र दुई प्रतिशत मानिसको ज्यान जाने खतरा हुन्छन्। यो भाइरसका कारण मृत्यु हुने मानिस प्रायः वृद्ध, दम रोग भएको, मिर्गाैला रोगी र मधुमेह रोगीको ज्यान जाने गरेको तथ्याङ्कले देखाएको डा मेहताले बताए।

यो भाइरसबाट बच्न प्रदेश नं १ को सामाजिक विकास मन्त्रालयले उच्च सतर्कता अपनाएको छ। यसका लागि जनस्वास्थ्य निर्देशनालय धनकुटाको निर्देशक चन्द्रदेव मेहताको संयोजकत्वमा एक प्राविधिक समिति बनाएको छ भने प्राविधिक समितिलाई आवश्यक सल्लाह एवं सुझाव दिन र तयारी अवस्थालाई प्रभावकारी बनाउन स्वास्थ्य व्यवस्थापन महाशाखा काठमाडौँका निर्देशक भोजराज डोटेल सम्मिलित प्राविधिक त्रिभूषणप्रसाद साह र नरेन्द्र खनालको टोलीले आवश्यक निर्देशन एवं परामर्श दिइरहेको बताएको छ।

अन्य सम्बन्धित समाचार:  ओली समूहको स्थायी कमिटी बैठक आज पनि

संक्रमणबाट बँच्ने कसरी?
साबुन पानीले मिचिमिची ३० सेकेण्डसम्म हात धोएमा यसबाट बच्न सकिन्छ र बाहिर हिँड्दा नाक मुख छोप्ने मास्क लगाउनुपर्ने, भिडभाडमा नजाने, विदेशबाट फर्केर आएका मानिसबाट सावधान रहने, जङ्गली तथा घरपालुवा पशुपक्षीबाट टाढा रहने सुझाव चिकित्सकहरुको छ।

प्रदेश नं १ मा के छ व्यवस्था?
कोरोनाको सङ्क्रमण देखिएको मानिसको उपचारका लागि प्रदेश नं १ मा कोशी अस्पताल विराटनगरमा पाँच, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा १०, विराट अस्पतालमा १२ र नोबेल अस्पतालमा एक श्यया व्यवस्था गरी उपचार गर्ने प्रबन्ध मिलाइएको छ।