काठमाडौँ। कोरोना भाइरसको जोखिमलाई ध्यान दिँदै काठमाडौँमा होली खेल्न रोक लगाइएको छ। जिल्ला सुरक्षा समन्वय समितिको बुधबार बसेको बैठकले होली खेल्न नपाइने निर्णय गरेको हो।
भिडभाड र जमघट हुने ठाउँमा कोरोना भाइरसको सङ्क्रमण हुने खतरा भएकाले होली खेल्न नपाइने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले बताए।
‘अर्को निर्णय नभएसम्म विभिन्न प्रकारका उत्सव, मेला, होली लगायतका पर्वमा भेला नहुन र त्यस्ता सम्मेलन तथा कार्यक्रममा सहभागी नहुन पनि निर्देशन दिइएको छ।
काठमाडौँमा सार्वजनिक रुपमा आयोजना हुने औपचारिक कार्यक्रमका लागि अनिश्चितकालसम्मका लागि स्वीकृति नदिने भएको छ।
काठमाडौँबाहेकका अरु जिल्लामा पनि सकेसम्म होली नखेल्न सरकारले आग्रह गरेको छ। भिड र समूहमा होली खेल्दा सङ्क्रमणको जोखिम हुन सक्ने भएकाले सकेसम्म होली नखेल्न सरकारले आग्रह गरेको हो।
सरकारले भिडभाडमा नजान, भेला, सभा सम्मेलन नगर्न यसअघि नै आग्रह गरिसकेको छ।