मास्क लुकाएको वा महँगोमा बेचेको भेटिए ११३७ मा खबर गर्नुहोस!

काठमाडौँ। मास्क (मुखावरण) महँगोमा बेचेको वा लुकाएको पाइए ११३७ नम्बरमा खबर गर्न सरकारले आग्रह गरेको छ।

बजारमा मास्क नपाइने र पाइए पनि महँगो पर्ने गुनासो बढेपछि पैसा नलाग्ने फोन नम्बर ११३७ मा खबर गर्न वा वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागमा जानकारी गराउन विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीले आग्रह गरेका छन्।

उजुरीको आधारमा सरकारले अनुगमन गरी दोषी पाइए तीन लाख रुपैयाँसम्म जरिबाना तिराउने र मुद्दा चलाइने छ। गएको मङ्गलबारदेखि बजारमा अनुगममा मास्क लुकाएको वा बढी मूल्यमा बेचेको पाइए कारबाही गर्न पनि थालीएको छ।

मास्क लुकाउने काठमाडौंको क्षेत्रपाटीमा रहेको नेपाल केयर सर्जिकल सप्लायर्सलाई दुई लाख रुपैयाँ जरिबाना तिराएको विभागले जनाएको छ। यस्तै बिलबिना नै महँगोमा मास्क बेच्ने त्रिपुरेश्वरको स्वस्तिक सर्जिकल सप्लायर्सलाई २० हजार र सचिन ट्रेड कन्सर्नलाई १० हजार रुपैयाँ तथा त्रिपुरेश्वरको खनाल सर्जरी सप्लायर्स, अर्चना सर्जिकल र फिस्टेल सर्जिकललाई पाँचरपाँच हजारका दरले जरिबाना तिराएको विभागले जनाएको छ।

अन्य सम्बन्धित समाचार:  सरकारसँग वार्ता गर्न विप्लव पक्षबाट प्रकाण्डको नेतृत्व

त्यस्तै अन्य आठ वटा फर्मलाई सचेत गराइएको छ। विभागले बिहीबार पनि बजार अनुगमन गरिरहेको छ।