नेपालको पर्यटन क्षेत्रमा कोरोनाको सिधा असर

गीताञ्जली अधिकारी। सरकारले भिजिट नेपाल २०२० को थालनी गरेको केही महिना नहुँदै कोरोना भाइरसको कारण त्रास छायो। जसको सिधा असर नेपालमा परेको छ। भ्रमण वर्ष समेत स्थगीत गरिएको छ। भारत पछी धेरै पर्यटकको आश गरिएको चीनमा कोरोना भाईरसले महामारिको रुप लिएपछी नेपालको पर्यटन क्षेत्र नराम्रोसँग प्रभावित हुन पुगेको छ।

कोरोना भाइरसको संक्रमण फैलिरहँदा बाँकी विश्वमा चिनियाँहरूको आवागमन पातलिएको छ। चिनियाँ पर्यटकहरूको आगमन घट्दा नेपालको एअरलाइन्स, होटल र टुर अपरेटरको व्यवसायमा असर परेको पर्यटन व्यवसायीहरू बताउँछन्।

कोरोनाको महामारी बढ्दै गएपछि चीन सरकारले नेपालसँगका सीमा नाका बन्द गरेको छ। जसका कारण चीनबाट नेपाल आउने पर्यटकको संख्या स्वाट्टै घटेको छ। कोरोना भाइरसको आतंक फैलिनु अघिसम्म अर्थात जनवरी महिनामा चिनिया पर्यटकको संख्यामा वृद्धि भईरहेको थियो। तर कोरोना भाइरस फैलिएसँगै चिनिँया मात्र नभएर अन्य देशबाट आउने पर्यटक पनि घटेका छन्।

यो प्रकृया अझै केही समय चल्ने पर्यटन बोर्डको अनुमान छ। बोर्डका सुचना अधिकारी मणिराज लामिछानेका अनुसार कोरोना फैलिदा चीनसहित अन्य देशका पर्यटकहरु आउने क्रम पातलिएको छ भने आउने तयारीमा रहेकाले पनि टिकट स्थगीत गर्न थालेका छन्।

चिनियाँहरूको नयाँ वर्ष पर्ने भएकाले २० जनवरीदेखि १० फेबु्रअरीसम्म सामान्य अवस्थामा औसतमा १० हजारदेखि १५ हजारसम्म चिनियाँ पर्यटक नेपाल आउँछन्। त्यस अवधिमा एउटा ट्राभल तथा टुर कम्पनीले औसतमा रु.५० लाखदेखि रु.६० लाखसम्म कारोबार गर्छ।

तर, कोरोना भाइरसको संक्रमणपछि हवाई उडानमा आएको कमी र नेपाल–चीनका स्थलमार्ग बन्द गरिंदा चिनियाँ पर्यटकको आगमन स्वाट्टै घटेको छ। जसका कारण व्यवसायमा असर परेको ब्यवसायिहरु बताउँछन।

सन २०१९ को जनवरी महिना र सन २०२०को जनवरी महिनाको तथ्याँक हेर्ने हो भने यो वर्ष पहिलो महिना मै २ प्रतिशतले पर्यटक आवागमन कम भएको छ।

सन २०१९ को जनवरीमा ८१ हजार २ सय ७३ जना पर्यटकहरु नेपाल आएका थिए। तर यो संख्या २०२० को जनवरिमा घटेर ७९ हजार ६ सय ८६ जना मात्र नेपाल आएका छन। जुन करीब २ प्रतिशत कम हो। नेपाल र चीनको सीमाना जोडिएका कारणले युरोप लगायतका अन्य मुलुकबाट पनि पर्यटक आउँन हिच्किचाएको हुनसक्ने पर्यटन बोर्डको निष्कर्ष छ।

त्यसो त कोरोना भाइरसका कारण चिनियाँ लगानी र ठेक्काका योजना समेत प्रभावित भएका छन्। चिनियाँ लगानीकर्ता र ठेकेदारले निर्माण गरिरहेका मेलम्ची खानेपानी आयोजना, माथिल्लो त्रिशूली बी जलविद्युत् आयोजना, भैरहवास्थित गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थल लगायत करीब दुई दर्जन योजनाको काम प्रभावित भएको छ।