चीनबाट भारत हुँदै नेपाल छिर्ने औषधिजन्य कच्चा पदार्थ र औषधि अभाव

गीताञ्जली अधिकारी। काठमाडौं। कोरोना भाइरसका कारण चीनबाट वस्तु आयातमा देखिएको असहजताले औषधिको आपूर्ति र उत्पादनलाई पनि असर गरेको छ। चीनले नेपाल सहित अन्य देशका नाकाहरु बन्द गरेपछी चीनबाट आयात हुने औषधिजन्य कच्चा पदार्थ र औषधिको नै बजारमा अभाव देखिन थालेको हो।

औषधि उत्पादक संघ (एपोन) का महासचिव बिप्लब अधिकारीका अनुसार कच्चा पदार्थ आयातमा अवरोध हुँदा बजारमा अजिथ्रोमाइसिन, टक्सिसाइक्लिन, भिटामिन बि १२ लगायत केही औषधिको अभाव हुन थालेको छ।

नेपालमा उत्पादन हुने धेरैजसो औषधिका लागि भारतबाट कच्चा पदार्थ आयात हुने गरेको छ। तर, भारत आफैंले औषधिका लागि करीब ८५ प्रतिशत कच्चा पदार्थ चीनबाट नै आयात गर्छ। चीनबाट भारतमा पनि आपुर्ती हुन छाडेपछी भारतले पनि कच्चा पदार्थ नेपाल पठाउन कडाइ गर्न थालेको छ।

औषधिका लागि नेपालले २० प्रतिशत कच्चा पदार्थ सिधै चीनबाट ल्याउछ भने अन्य देशबाट पनि नेपालले चीनको कच्चा पदार्थ ल्याउने गर्छ। विश्व बजारमा ६५ प्रतिशत औषधिको कच्चा पदार्थको क्षेत्र ओगटेको चीनलाई कोरोनाले आतंकित बनाएपछि विश्व बजारमै औषधिको अभाव र मुल्य वृद्धि हुन सुरु गरेको छ।

अन्य सम्बन्धित समाचार:  दुर्गममा काम गरेको झुटो विवरण पेस गर्ने ४९ डाक्टरलाई एमडी-एमएस पढ्न रोक

तर, स्वास्थ्य मन्त्रालयले भने आयातको असहजताले पार्ने समस्याको आँकलन गरी औषधि र सर्जिकल सामग्रीको व्यवस्थापनका तयारीमा जुटेपनि एपोनका महासचिव अधिकारीले कम्पनीहरूमा अझै चार महीनाका लागि पुग्ने औषधि मौज्दात रहेकाले आत्तिहाल्नुपर्ने अवस्था भने नरहेको बताउँछन्।

नेपालको कुल वार्षिक खपतमध्ये ४८ प्रतिशत तयारी औषधि भारतबाट आउँछ भने ५२ प्रतिशत नेपाली कम्पनीले नै उत्पादन गर्छन्। यस्तै, क्यान्सर रोगका औषधि चीनबाट भारत हुँदै आउँछ। अहिले जस्तै आयातमा अड्चन जारी रहे क्यान्सर जस्ता रोगका औषधि अभाव हुने देखिन्छ। एपोनका महासचिव बिप्लब अधिकारिका अनुसार मुलुक औषधि उत्पादनमा आत्मानिर्भर हुन सके अन्य देशमा महामारी फैलिदा पनि आत्तीईहाल्नुपर्ने अवस्था आउने छैन।

कोरोना भाइरसको संक्रमण विश्वभर फैलिन थालेपछि चीनसहित धेरै मुलुकमा मास्कको माग बढेको छ। चीनमा मास्कको अभाव भएर तेस्रो मुलुकबाट लैजाने क्रम बढ्न थालेको छ। कतिसम्म भने, चिनियाँहरूले नेपालका औषधि पसलबाट समेत ठूलो परिमाणमा मास्क चीन निर्यात गरिरहेका छन्।

अन्य सम्बन्धित समाचार:  सरकारले गर्‍यो विप्लव समूहमाथिको प्रतिबन्ध फुकुवा

भारतले त १७ माघमा नै मास्क निर्यातमा प्रतिबन्ध लगाइसकेको छ। नेपालमा पनि कोरोनाको सन्त्रासका कारण सुरक्षा सतर्कता अपनाउँदै मास्क लगायतका सामग्री प्रयोग गर्ने क्रम बढेको छ। नेपाल औषधि व्यवसायी संघले २१ माघमा विज्ञप्ति जारी गर्दै मास्क, सर्जिकल पन्जा र ह्यान्ड स्यानिटाइजरको अत्यधिक माग बढेको भन्दै बजारमा अभाव हुन नदिन व्यवसायीहरूलाई निर्देशन दिएको थियो। तर, यतिखेर बजारमा माक्स पाउन मुस्किल बन्दै गएको छ।