जीप दुर्घटना हुँदा वडासचिवको मृत्यु

गोरखा।  गोरखाको आरुघाट गाउँपालिका–१ र्धोचेमा बलेरो जीप दुर्घटना हुँदा धार्चे गाउँपालिका ६ का वडासचिव किरण रिमालको घटनास्थलमा नै मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक ओमप्रसाद अधिकारीका अनुसार ग १ ज ५५०५ नम्बरको जीप बुधवार साँझ करिब ७स्३० बजे सडकबाट झण्डै ३०० मिटर तल खसेको थियो।

दुर्घटनामा गाउँपालिकाका उपाध्यक्ष फूलमाया गुरुङसहित सोही गाउँपालिकाका कर्मचारी घनबहादुर गुरुङ, निशा गुरुङ, शर्मिला गुरुङ, क्यामेरापर्सन केयरसिंह गुरुङ, फेज नेपाल नामक संस्थाका कर्मचारी सरोज गुरुङ र जीपका चालक करौजाका बालचन्द्र गुरुङ गम्भीर घाइते भएको प्रहरीले जनाएको छ।

घाइते सबैको अहिले दोङचेतस्थित फेज नेपालद्वारा सञ्चालित क्लिनिकमा सामान्य उपचार भइरहेको छ। घाइते अधिकांशको टाउको र मेरुदण्डमा चोट लागेको जनाइएको छ। रातिको समयमा सामान्य वर्षा भएकाले कच्ची सडकमा जीप घुम्तीमा चिप्लिएर दुर्घटना भएको हुनसक्ने प्रहरी अनुमान गरेको छ। घाइतेलाई थप उपचारका लागि काठमाडौँ लैजाने तयारी भइरहेको प्रहरीले जनाएको छ।

अन्य सम्बन्धित समाचार:  बर्थिङ सेन्टरको स्थापनापछि ग्रामीण महिला खुशी

घटनास्थल अति नै विकट भएकाले हेलिकप्टरबाट उद्धारका लागि पत्राचार गरिएको गोरखाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिए।