काठमाडौँ। प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली र वन मन्त्री शक्ति बस्नेतको राजीनामा माग गरिएको छ। शुक्रबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै नेपाली काङ्ग्रेसका सांसद तेजुलाल चौधरीले प्रधानमन्त्रीको राजिनामा माग गरेका हुन्।
उनले प्रधानमन्त्रीको स्वास्थ्यका साथै देशको पनि चिन्ता लागेको बताउँदै भ्रष्टाचारी भाइरसले देशको मुटु, फोक्सो, कलेजो र नसामा पसेर आम जनताको रगत र पसिना चुसेकोमा चिन्ता लागेको बताएका छन्। उनले प्रधानमन्त्रीले आसेपासे भ्रष्टाचारीलाई संरक्षण गरेको भन्दै राजीनामा मागगरेका हुन्।
सांसद दिल कुमारीले वन मन्त्री शक्ति बस्नेतको राजीनामा माग गरेकी छिन्। उनले राजतन्त्र सकिएपनि मन्त्रालयमा राणाशासन रहेको उल्लेख गर्दै वन मन्त्रालयमा आफूमाथि दुर्व्यवहार भएको बताएकी छिन्। उनले मन्त्रीको स्वकीय सचिव र कर्मचारीले समानुपातिक कि प्रत्यक्ष निर्वाचित भनेर प्रश्न गरेको गुनासो गरेका छन्। उनले वन मन्त्रीको राजीनामा माग गर्दै उनका स्वकीय सचिव धिरज उप्रेतीले हदैसम्मको अपमान गरेको बताइन्।
यस्तै नेपाली काँग्रेसकी सांसद डिला सङ्ग्रौलाले सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणमा पूर्व सञ्चारमन्त्री गोकुल बाँस्कोटालाई कारवाही गर्न माग गरेकी छिन्। शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा शून्य समयमा बोल्दै सङ्ग्रौलाले भ्रष्टाचारले कोरोना भाइरसले जस्तै तर्साएको बताइन्।
उनले प्रधानमन्त्रीले आत्मविश्वासले रोगलाई जित्न सके पनि भ्रष्टाचारलाई जित्न नसकेको बताइन्। प्रधानमन्त्रीले भ्रष्टाचारीलाई संरक्षण गरेको भन्दै उनले सेक्युरिटी प्रिन्टिङ प्रेसमा भएको करोडौँ भ्रष्टाचारको छानविन गर्न आग्रह गरेका छन्।