कोभिड–१९ को सङ्क्रमण: मुलुकमा हिजोको जस्तो सावधानीले पुग्दैन

काठमाडौं। चीनबाट सङ्क्रमण फैलिएको नोबल कोरोना भाइरस (कोभिड–१९) को फैलावट बढ्दै गएको र छिमेकी मुलुक भारत र भुटानमा समेत विस्तार भएको वर्तमान अवस्थामा मुलुकमा हिजोको जस्तो मात्रै सावधानीले नपुग्ने देखिएको छ। कोरोना सङ्क्रमणको दायरा फराकिलो हुँदै जाँदा भारतसँगको खुला सिमानाका कारण सीमाक्षेत्रमा कडा निगरानीको आवश्यकता महसुस गरिएको छ।

सर्वसाधारणदेखि संसद्मा समेत कोरोना भाइरस भित्रिन नदिन सरकारले आफ्नो गतिलाई बढाउनुपर्ने माग उठिरहेको छ। सोही सन्दर्भमा प्रतिनिधिसभाको शुक्रबारको बैठकमा कोरोना भाइरस र यसको नियन्त्रणका विषयमा एउटा जरुरी सार्वजनिक महत्वको प्रस्ताव नै पेश भएको छ।

उक्त प्रस्तावमा कोभिड–१९ को जोखिमका हिसाबले १५औँ संवेदनशील मुलुकमा रहेकाले यस स्थितिमा पूर्वतयारी र रोकथामका लागि पर्याप्त काम हुन नसकेको उल्लेख छ। विश्व स्वास्थ्य सङ्गठनले नेपाललाई यसअघि नै उच्च जोखिम देशको रुपमा राखिसकेको छ।

अन्य सम्बन्धित समाचार:  अध्यादेश फेल गर्ने हिम्मत छ कसैको?: प्रधानमन्त्री ओली

प्रमुख प्रतिपक्षीदल नेपाली काँग्रेसका सांसद गगनकुमार थापाले संसद्मा प्रस्तुत गर्नुभएको उक्त जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथिको छलफलमा भाग लिँदै विभिन्न दलका ४० सांसदले कोरोना भाइरस भित्रिन नदिन सरकारले उच्च सावधानी अपनाउनुपर्नेमा जोड दिएका छन्।

कोरोना भाइरसको संवेदनशीलतालाई मनन गरी सम्भाव्य जोखिमको न्यूनीकरणका लागि व्यवस्थापकीय र प्राविधिक तयारीमा जुट्नसमेत आग्रह गरिएको छ। प्राप्त पछिल्लो विवरणअनुसार अहिलेसम्म विश्वका ८९ देशका ९८ हजार ४०७ जनामा कोरोना भाइरस सङ्क्रमण भइसकेको छ। यसमा तीन हजार ३८७ को मृत्यु भएको तथा ५५ हजारभन्दा बढी सङ्क्रमित उपचारपछि घर फर्किसकेका छन्।

प्रतिनिधिसभामा जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथिको छलफलका क्रममा सांसदले उठाएको जिज्ञासा सम्बोधन गर्दै स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले हिजोको जस्तो सावधानीले मात्रै नपुग्ने भएकाले सरकारले निगरानी बढाउन थालेको सदनलाई जानकारी गराए।

अन्य सम्बन्धित समाचार:  नेकपा विवादः आजदेखि कानुनी प्रक्रिया अघि बढाउने तयारीमा आयोग

उनले छिमेकी राष्ट्र भारत र भूटानमा पनि यो भाइरसले छोएको भनेर पछिल्लो जानकारी आएको उल्लेख गर्दै सङ्क्रमित हुनेहरुको दायरा बढ्दो क्रममा रहेको बताए।

मन्त्री ढकालले जवाफमा भने, “कोरोनाको सङ्क्रमण दर फराकिलो बन्दै गएको छ, हिजोको जस्तो सावधानीले मात्र नपुग्ने अवस्थामा छ, हिजो चीनमा मात्रै थियो, अहिले युरोप, अमेरिका, दक्षिण कोरिया, जापान, इरान, अरबलगायत थुप्रै मुलुकमा रोग देखापरिसकेकाले अझै चनाखो हुनुपर्ने अवस्था छ।” खुला सिमाना, आपसी सम्बन्ध, खानपिन तथा आऊजाऊ भारतसँग बढी हुने भएकाले पनि मुलुकमा अझै जोखिम बढेको छ।

मन्त्री ढकालले जोखिम बढ्दो रहेकाले अहिले भन्सार नाकाबाहेक ३७ ठाउँमा हेल्पडेस्क खडा गरेर परीक्षणको तयारी गरिएको जानकारी दिए।