प्राधिकरण भन्छ, ‘अहिले नै अन्तरराष्ट्रिय उडान रोक्नुपर्ने अवस्था छैन’

काठमाडौं। स्वभावैले विदेशी यात्रुको आवतजावत हुने अन्तरराष्ट्रिय विमानस्थलमा हुने उडानले कोरोना भाइरसको सन्त्रासलाई थप बढावा दिने गर्दछ। के अन्तरराष्ट्रिय उडान रोक्दैमा कोरोनाको सम्भावित जोखिम नियन्त्रण हुन्छ त? यो प्रश्नको उत्तर सहज छैन।

किनकी नेपालजस्तो विकासोन्मुख देश मात्र हैन, विकसित मुलुक युरोप अमेरिकालगायतकाले पनि यस्तो प्रश्नको उत्तर भेट्टाउन सकेका छैनन्। त्यसैले बजारमा फैलिएको हल्ला र त्रासकै भरमा तत्कालका लागि अन्तरराष्ट्रिय उडान रोक्ने अवस्था नरहेको नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।

अन्तरराष्ट्रिय नागरिक उड्डयन सङ्गठन र विश्व स्वास्थ्य सङ्गठनको विश्वव्यापी मापदण्डलाई नेपालले परिपालना गर्नै पर्ने हुन्छ। हुन त सार्वभौम मुलुक नेपालका लागि यो बाध्यकारी व्यवस्था भने हैन।

नेपालले आफ्नो आवश्यकताका आधारमा निर्णय लिन सक्छ तर पनि मानवीय संवेदनशीलता र विश्वव्यापी परिस्थतिलाई मध्यनजर गरी हतारमा उडान रोक्न पनि उपयुक्त नहुने नियामक निकायको भनाइ छ।

नेपालको सन्दर्भमा सर्वोच्च अदालतले पनि आवश्यकता परेको खण्डमा अन्तरराष्ट्रिय उडान रोक्न अन्तरिम आदेश दिइसकेको छ। यो विषयमा सरकारले निर्णय गरेपछि मात्र नियामक प्राधिकरणले कार्यान्वयन गर्नुपर्ने हुन्छ।

त्यसो भए कोरोनाको सम्भावित जोखिमलाई मध्यनजर गरी प्राधिकरण अन्तरराष्ट्रिय उडान रोक्ने अवस्थामा पुगेको हो त भनी सोधिएको रासससँगको जिज्ञासामा प्राधिकरणका महानिर्देशक राजन पोखरेलले अहिले नै अन्तरराष्ट्रिय उडान रोक्नुपर्ने अवस्था नरहेको बताए।

“राज्यले अत्यावश्यकबाहेक हवाई यात्रा नगर्न ट्राभल एडभाइजरी जारी गरिसकेको छ, यो नै काफी हुन्छ, उडान रोकिरहन पर्दैन यात्रु नपाएपछि एयरलाइन्सले उडान गर्नै सक्दैनन्, फेरि अहिले डब्लुएचओ र आइकाओले पनि उडान रोक्नु भनेको छैन।  त्यसैले अहिले नै अन्तरराष्ट्रिय उडान रोक्ने अवस्था छैन”, महानिर्देशक पोखरेलले भने।