अन्तर्राष्ट्रिय महिला दिवसः सरकारले आयोजना गरेको कार्यक्रम स्थगित

काठमाडौँ। आज मार्च ८ तारिख अर्थात अन्तर्राष्ट्रिय महिला दिवस। ‘समानताको पुस्ताः अन्त्य गरौँ हिंसा, विभेद र असमानता’ भन्ने नाराका साथ मनाइँदैछ।

नेपालको संविधानले महिलालाई लैङ्गिक भेदभावबिना समान हक, राज्यका सबै निकायमा महिलालाई समानुपातिक समावेशी सिद्धान्तका आधारमा सहभागी हुने हक र सम्पत्ति तथा पारिवारिक मामिलामा दम्पतीको समान हक लगायत अधिकार निश्चित गरे पनि पूर्ण कार्यान्वयन भने हुन सकिरहेको छैन।

महिलालाई शब्दमा समानता भए पनि व्यवहारमा भने विभेद कायमै छ।  संविधानमै ग्यारेण्टी गरिएको झण्डै ३३ प्रतिशत महिला सहभागिता पनि सबै ठाउँमा कार्यान्वयन हुन सकेको छैन।

सङ्घीय सरकारमा १३ प्रतिशत मात्र महिला मन्त्री छन् भने प्रदेश सरकारमा साढे १४ प्रतिशत र पालिकामा झण्डै ४१ प्रतिशत महिला प्रतिनिधित्व छ। यस्तै निजामती क्षेत्रमा झण्डै २६ प्रतिशत महिला कर्मचारी छन्।

अन्य सम्बन्धित समाचार:  दलितले छोएको दही खाएको निहुँमा बहिष्करणमा परेकालाई न्याय दिन आयोगको निर्देशन

सुरक्षा फौजमा महिलाको उपस्थिति झनै कम छ। नेपाल प्रहरीमा साढे ८, सशस्त्र प्रहरीमा झण्डै ८ र सेनामा साढे ५ प्रतिशत महिला  छन्। यस्तै न्यायालयमा सर्वोच्च अदालतमा १४ प्रतिशत, र उच्च अदालतमा ३ प्रतिशत मात्र महिला न्यायाधीश छन भने १७ प्रतिशत अधिवक्ता र ६ प्रतिशत वरिष्ठ अधिवक्ता मात्र महिला छन्।

दिवसको अवसरमा सरकारले आयोजना गरेको कार्यक्रम भने स्थगित गरेको छ। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले कोरोना भाइरसको जोखिम बढेसँगै भेला, सभा, सम्मेलन, लगायत कार्यक्रम स्थगित गरिएको जनाएको छ। मन्त्रालयले प्रज्ञा भवन कमलादीमा औपचारिक कार्यक्रम गर्ने तयारी गरेको थियो।

दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, लगायत विभिन्न दलका नेताहरूले शुभकामना दिएका छन्।

अन्य सम्बन्धित समाचार:  दलित पत्रकार सङ्घको महाधिवेशन फागुन २८ मा