१२ वर्ष पछि पत्रकार विरेन्द्र शाहका हत्या आरोपी पक्राउ

काठमाडौँ। बाराका पत्रकार विरेन्द्र शाहको हत्यामा संलग्न मुख्य आरोपी १२ वर्षपछि पक्राउ परेका छन्। जिल्ला अदालत बाराले जन्मकैदको फैसला सुनाएका फरार प्रतिवादी महागढीमाई नगरपालिका निवासी ४५ वर्षीय कुन्दन फौजदार भनिने नरेन्द्र फौजदारलाई प्रहरीले आज बिहान पक्राउ गरेको हो।

फौजदारलाई नियन्त्रणमा लिने क्रममा चार राउन्ड हवाई फाइरिङ समेत गर्नु परेको प्रदेश २ का प्रहरी प्रमुखले बताएका छन्। लामो समयदेखि फरार रहेका फौजदार होली मनाउन घरमा आएको गोप्य सूचनाका आधारमा प्रहरी उनको घर पुगेको थियो।

नियन्त्रणमा लिने क्रममा केही आफन्तले अवरोध गरेपछि हवाइ फाइरिङ गर्नु परेको प्रहरीको भनाइ छ। पत्रकार साहको २०६४ असोज १८ गते पिपरा बजारबाट अपहरण गरी हत्या भएको थियो।

अन्य सम्बन्धित समाचार:  बाघको आक्रमणबाट एक घाइते

अपहरणको ३५ दिनपछि उनको शव डुमरबाना गाविस ९ मा पर्ने चारकोसे जङ्गलमा गाडिएको अवस्थामा फेला परेको थियो।