न्युयोर्कमा कोरोना भाईरस बिरुद्ध लड्न संकटकाल : नेपालीहरु उच्च जोखिममा

न्युयोर्क। अमेरिकाको न्युयोर्क राज्य सरकारले चीनबाट सुरु भई महामारीको रुपमा विश्वब्यापी बन्दै गईरहेको कोरोना भाईरस बिरुद्ध लड्न संकटकाल घोषणा गरेको छ।

न्युयोर्क राज्यका गभर्नर एन्ड्र्यु क्युमोले हिजो शनिवार उक्त संकटकाल घोषणा गर्दै औषधि, उपकरण,उद्दार, सहयोग तथा क्वारेन्टाईनलाई ब्यवस्थित गर्न संकटकाल घोषणा गरेको बताएका छन्।

न्युयोर्क राज्यका बिभिन्न ठाउँमा गरी नब्बेको हाराहारीमा कोरोना भाईरस संक्रमित भएको भेटिएपछि ती संक्रमितहरुको सम्पर्कमा आएका ब्यक्तिहरु समेत भाईरसको जोखिममा हुने भएकोले तिनीहरुको पत्ता लागेसम्म तिनीहरुलाई पनि सेल्फ़ क्वारेन्टाईनमा रहन भनिएको छ।

न्युयोर्क सहरदेखि करीब १५ माईल मात्र टाढा वेष्टचेस्टर काउन्टीमा सबैभन्दा बढि संक्रमित भेटिएका छन्। त्यसैगरी सहरभित्रै अपर म्यानह्याटन, ब्रुकलिनमा समेत संक्रमित भेटिएका छन् भने पछिलो समयमा क्वीन्स काउन्टीमा एक जना उबर चालकमा समेत कोरोना भाईरसको जीवाणु फेला परेपछि थप त्रास फैलिएको छ।

अन्य सम्बन्धित समाचार:  कम्युनिष्ट आन्दोलनलाई एकीकृत गर्ने अभियानमा दृढ संकल्पित छौंः प्रधानमन्त्री

एयरपोर्ट खुकुलो, होटेलहरुका बुकिंग रद्द
यसैबिच कोरोना भाईरसको प्रकोप देखिएपछि न्युयोर्कका लग्वार्डिया र ज़ोन अफ केनेडी एयरपोर्ट र न्युयार्क एयरपोर्टमा पनि भिडभाड कम देखिन थालेको छ। होटलमा भएका बुकिंगहरु समेत रद्द गरिएको छ भने कस्टको, बिजे होलसेल जस्ता ठूला ग्रोसरी स्टोरमा खाद्यान्नको बिक्री बढेको छ। स्यानिटाईजर र मास्कको समेत उच्च माँग भईरहेको छ। बिभिन्न गोष्ठी, सेमिनार र शोहरु पनि स्थगन गरिएको छ।

नेपालीहरु उच्च जोखिममा !
न्युयोर्कमा चल्ने ट्याक्सी, उबर र लिफ़्टमा ठूलो संख्यामा नेपालीहरु ड्राईभरको रुपमा कार्यरत छन्। एयरपोर्टबाट उठाउने यात्रुको सम्पर्कमा सबैभन्दा पहिले ड्राईभरहरु नै हुने तथा पछिल्लो संक्रमण उबर चालकमा देखिएपछि नेपालीहरु थप सशंकित भएका हुन्। उक्त भाईरसको संक्रमण हुने मध्ये सबैजसो अन्य देशमा भ्रमण गरी फर्केका हुनुले पनि स्थिति झन् डरलाग्दो बन्दै गएको छ।

अन्य सम्बन्धित समाचार:  प्रधानन्त्री र मन्त्रीको सपथविरुद्ध परेका रिटको सुनुवाई प्रधानन्यायाधीशको बेञ्चमा

त्यसैगरी ग्याँस स्टेशन, हाउस किपिंग,ग्रोसरी, रेष्टुरेन्ट र ब्युटीपार्लरहरुमा पनि नेपालीहरुको उल्लेख्य रोजगारी भएकोले गर्दा उनीहरु संक्रमण हुने जोखिम बढ्दो छ।

अमेरिकामा ४०० भन्दा बढिमा भाईरस संक्रमण देखिएको र कोरोना संक्रमणले कम्तीमा १९ जनाको मृत्यु भएको छ।