‘नेफ्टा फिल्म अवार्ड’ स्थगित

काठमाडौँ। आगामी चैत्र २२ मा आयोजना हुने भनिएको १०औं ‘नेफ्टा फिल्म अवार्ड’ सँगै अवार्डको मनोनयन पनि स्थगित गरिएको छ। नेपाल चलचित्र प्राविधिक सङ्घले शनिबार विज्ञप्ति जारी गर्दै कोरोना भाइरसको उच्च सतर्कतालाई मध्यनजर गर्दै अवार्ड स्थगित गरिएको जनाएको छ।

प्राविधिक सङ्घले ‘नेफ्टा अवार्ड’को फागुन २७ मा उत्कृष्ट पाँच मनोनयन सार्वजनिक गर्ने तयारी गरेको थियो। सरकारले गरेको अनुरोधअनुसार मनोनयन कार्यक्रम स्थगित गरेको जनाइएको छ।

मनोनयनसँगै चैत्र २२ गते टुँडिखेलमा हुने अवार्ड प्रदान समारोह पनि स्थगित भएको छ। यो अवार्डको नयाँ मितिबारे पुनः जानकारी गराउने संस्थाले जनाएको छ।

विगतका वर्षहरूमा विदेशमा हुँदै आएको अवार्डलाई यसपटक नेपाल भ्रमण वर्ष कार्यक्रमअन्तर्गत मुलुकमा गर्न लागिएको र कार्यक्रमको भब्य सुरुवात लगभग अन्तिम चरणमा पुगेको साथै तिथि र मिति परिवर्तन भए पनि सभ्य र भव्य रूपमा कार्यक्रम गर्ने बताइएको छ।