खोई कसरी मनाऊँ नारी दिवस?

मीरा ज्ञवाली’ आस्था’


जब रुँदैछन् सपना देख्ने
हजारौं आँखाहरू न्यायको पर्खाइमा।
जन्मजात कमजोर पारिएका
कलिला अबोध शिशुहरू छोरी भएकै कारण
आमाको गर्भभित्र एबोर्सन गरी मर्न विवश छन्।
यस्तो बेला कसरी मनाऊँ नारी दिवस ?

कञ्चनपुरकी निर्मलाले न्याय पाएकी छैन
छोराको न्यायका लागि पतिको मृत शरीर
बाकसमा राखेर न्याय पर्खिरहेकी
गङ्गामायाको आशा मरेको छ।

महिनावारी हुँदा म जस्तै कैँयौ नारीहरूले
छाउमै जीउ दाउमा लगाईरहेको बेला
गाँउका कैयौँ निर्दोष उजेली र सुन्तलीहरु
आफैंलाई चोया झैँ खोपेर
समर्पणका घुमहरू बुन्दै
दिनहुँ दिल्ली बम्बईको कोठीमा बेचिरहेछन्
सहरका केही थान चेलीहरू मिस वर्ल्डमा भाग लिँदै
सौन्दर्यको बखान गरिरहँदा
महिनावारीमा प्याडको प्रयोगबारे अनभिज्ञ
गाँउका कैयौँ किशोरीहरू प्रत्येक महिना
स्कुल छोडेर घरमा बस्न विवश छन्।

चन्द्रमामा बसाइ सरिसक्दा मान्छे
कर्णालीमा बोक्सी भन्दै
दिदी बैनी र आमाहरू पिटिईरहेछन्
गाँउका सोझा पार्वतीहरू
बोक्सी होस् भन्दै चुटिरहेछन्
जिन्दगी के हो बुझ्न नपाउँदै
एसिड प्रहारबाट कुरूप बनेका मुस्कानहरुको
मुस्कान खोसिएको बेलामा
कसरी मनाऊँ म नारी दिवस?

सहरमा नारी दिवसको नारा घन्किरहँदा
गाउँमा मेरा आमाहरू
पाठेघर खस्ने समस्याले ग्रस्त छन्।
स्कुल, कलेज, अफिस वा मेलापात गर्न गएकी छोरी, बुहारी
सकुशल फर्किन्छे फर्किन्ने कि भन्ने पिरलोले
आजका आमाहरू त्रस्त छन्।

मधेशमा दाइजो नल्याएको निहुँमा कैयौँ
मेरा दिदीबहिनीहरु जिउँदै जलाइएका छन्।
जातीय बिभेद बाल विवाह र बहु विवाहका
समस्या अझै पनि हट्न सकेको छैन।

देशमा यस्तै  यस्तै थुप्रै समस्याहरू व्याप्त भैरहँदा
महिलाको शासन चल्ने मेरो देशमा
महिलाहरूकै आवाजहरू पलपल रेटिएका छन्।

जतिसुकै दिवस र नारा घन्काए पनि घरेलु हिंसा र पीडाले
आज पनि कैयौँ नारी आँशु र पीडाको
मजेत्रोमा पिल्सिरहेका छन्।

यसरी आफू आफूभित्र आक्रोशका ज्वालामुखीहरू
बिचारको कुलेसो बनेर काकाकुल बन्दै
रोएका मनहरु माँझ कसरी मनाऊँ नारी दिवस?