मोदीले आफ्नो ट्विटर अकाउन्ट महिलालाई सुम्पिए

काठमाडौं। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा आफ्नो ट्विटर अकाउन्ट ७ जना महिलाहरूलाई सुम्पिएका छन्। प्रधानमन्त्री मोदीले सोमबार बिहान ट्विट गर्दै आफ्नो ट्विटर अकाउन्ट ७ जना सफल महिलालाई हस्तान्तरण गरेको जानकारी दिएका हुन्। नारी दिवसका अवसरमा मोदीको ट्विटरबाट ती महिलाहरूले आफ्नो अनुभव शेयर गर्नेछन्।

‘अन्तर्राष्ट्रिय नारी दिवसमा सबैलाई नमस्कार, हामी नारी शक्तिको स्पिरिट (जोश) र उपलब्धीलाई सलाम गर्न चाहन्छौ।’ मोदीले ट्विटरमा लेखेका छन्, ‘मैले केही दिन पहिला साइन अफ हुने कुरा गरेको थिएँ। आज दिनभर मेरो सामाजिक सञ्जालको अकाउन्टमार्फत ७ जना सफल महिलाहरूले आफ्नो जीवन यात्राबारे शेयर गर्नेछन् र तपाईंहरूसँग अन्तरक्रिया गर्नेछन्।’

‘भारतभर सफल महिलाको सङ्ख्या धेरै छ। ती महिलाहरूले विभिन्न क्षेत्रमा निकै ठूलो काम गरेका छन्। उनीहरूको संघर्ष र सपनाबाट लाखौंले प्रेरणा लिन सक्छन्। त्यसैले यस्ता महिलाको सफलताको जयजयकार गरौँ र उनीहरूबाट सिकौं’, मोदीले भने। यसै क्रममा स्नेहा मोहनदोसले मोदीको ट्विटर ह्यान्डलबाट पहिलो ट्विट गरेकी छन्। मोहनदोस फुड बैँक इन्डियाकी संस्थापक हुन्।

अन्य सम्बन्धित समाचार:  चिनियाँ सिनोफार्मा खोपलाई डब्ल्यूएचओको अनुमति

‘तपाईंले विचारका लागि खाना भन्नेबारे सुन्नु भएको होला। काम गरेर विपन्नको लागि सुन्दर भविष्य बनाउने समय आएको छ’, हनदोसले मोदीको ट्विटर ह्यान्डलबाट लेखेकी छन्, ‘हेलो मेरो नाम स्नेहा मोहनदोस हो। मैले मेरी आमाबाट प्रेरणा पाएर फुड बैँक इन्डिया सुरु गरेकी हुँ। घरबारविहीनलाई भोजन गराउने बानी आमाबाट सिकेकी हुँ।’ उक्त ट्विटसँग मोहनदोसले आफ्नो परिचय दिने एक भिडियो पनि शेयर गरेकी छन्।

गत सोमबार मोदीले ट्विटर, फेसबुक, इन्टाग्राम र युट्युव त्याग्ने बताएपछि सबै आश्चर्यमा परेका थिए। त्यतिबेला उनले सामाजिक सञ्जाल त्याग्नुको कारणबारे केही बताएका थिएनन्। त्यसको एकदिनपछि मोदीले अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा आफ्ना सामाजिक सञ्जालको अकाउन्ट प्रेरणा दिने महिलालाई सुम्पिने बताएका थिए।

अन्य सम्बन्धित समाचार:  सेरमले बेलायत पठाउन लागेको ५० लाख डोज खोपमा भारतको रोकावट

सामाजिक सञ्जालमा सबैभन्दा बढी फलोअर्स हुने विश्व नेतामा मोदी पनि पर्छन्। उनका ट्विटरमा ५ करोड ३३ लाख, फेसबुकमा ४ करोड ४० लाख, इन्टाग्राममा ३ करोड ५२ लाख र युट्युबमा ४५ लाख फलोअर्स छन्।