सूर्य नेपाल प्रालिको यो वर्षको कारोबार शंकास्पद

काठमाडौँ। बढी कर तिर्ने कम्पनीको परिचय पाएको सूर्य नेपाल प्रालिको यो वर्षको कारोबारमा आशंका गरिएको छ। चालू आर्थिक वर्षको छ महिनासम्ममा ३० करोडबराबरको चुरोट कारोबारमा सूर्य नेपालले राजस्व छली गरेको हुनसक्ने आधारसहित कर कार्यालयले अनुसन्धान थालेको छ।

यो वर्ष सूर्य नेपालले कारोबार रकम नै कम देखाएको छ। गत आर्थिक वर्षमा ३८ अर्ब ४ करोड रुपैयाँ हाराहारीमा करोबार गरेको कम्पनीले चालू वर्ष भने गत वर्षको तुलनामा १० प्रतिशत रकम कम भएको भन्दै ठूला करदाता कार्यालयमा आफ्नो विवरण पेश गरेको आन्तरिक राजस्व विभाग स्रोतले जनाएको छ।

चालू आर्थिक वर्षको सुरुदेखि नै कारोबार रकम कम भएको दाबी गर्दै सोहीअनुसारको विवरण ठूला करदाता कार्यालयमा पठाएको हो।

अन्य सम्बन्धित समाचार:  नेपाल समुहका चार नेता बालुवाटारमा, महासचिव पोखरेल राष्ट्रपति भेट्न शीतल निवासमा

कम्पनीले नेपालमा चुरोट उत्पादन गरी बिक्रीवितरण गर्दै आएको छ। कर कार्यालयले कारोबार नै कम भएको दाबीमाथि शंका गर्दै अनुसन्धान समेत गरिरहेको जनाएको छ।

अनुसन्धानकै क्रममा चालू आर्थिक वर्षको पुस मसान्तसम्ममा ३० करोड रुपैयाँ बराबरको चुरोटको कर दाखिला नगरेको देखिएको कार्यालय स्रोतले जनाएको छ। स्रोतका अनुसार अध्ययनको पूर्ण विवरण दिन बाँकी छ तर उत्पादनमै कर छली गरेको भन्ने आधार भने देखिएको छ।

कम्पनीको हकमा कहिल्यै नभएको कुरा यो वर्ष देखिएको छ। तराईका केही जिल्लामा विना स्टिकरको सूर्य चुरोट नै बिक्रीवितरण भइरहेको फेला परेको छ।

कार्यालयका अनुसार विगतमा पनि विना स्टिकरको चुरोटहरु बिक्री वितरण हुने गरेको थियो। त्यस्ता चुरोटको ब्राण्ड नाम नसुनेको खालका हुन्थे। तर यो वर्ष भने सूर्य चुरोट ब्राण्डमा नै स्टिकर नटाँसिएको भेटिएको हो।