कोरोना प्रभावः उपत्यकामा सुनसान होली

काठमाडौँ। फागु पूर्णिमा अर्थात् रङहरूको पर्व होली पहाडी र हिमाली जिल्लाहरूमा हर्षोल्लासका साथ मनाइँदै छ। उपत्यकालगायत देशभर उल्लासमय वातावरणमा होली मनाउने चलन रहे पनि यो वर्ष भने कोरोनाका भाइरसका कारण केही शान्त देखिएको छ। सरकारले भीड भएर होली खेल्न निषेध गरेपछि यो वर्ष होलीको रौनक खासै देखिएको छैन।

उपत्यकाका सडकहरू सुनसान देखिएका छन्। नयाँ बानेश्वर, त्रिपुरेश्वर, ठमेललगायत क्षेत्रमा उल्लासमय वातावरणमा होली खेलिने भए पनि यो वर्ष भने शान्त देखिएको हो। विश्वभर कोरोनाको सङ्क्रमण फैलिएको सन्दर्भमा काठमाडौँ जिल्ला प्रशासन कार्यालयले कुनै पनि औपचारिक कार्यक्रमका लागि स्वीकृति दिएको छैन। यद्यपि वसन्तपुरमा भने सर्वसाधारण तथा पर्यटकहरूको सामान्य जमघट भने भएको छ।

अन्य सम्बन्धित समाचार:  काठमाडौंका चार अस्पतालद्वारा थप कोरोना संक्रमितको उपचार गर्न नसक्ने घोषणा

होलीका अवसरमा काठमाडौंको वसन्तपुरमा गाडिएको चिरलाई विधिपूर्वक ढाली बाजागाजासहित टुँडिखेलमा लगेर जलाउने चलन छ। चीरको खरानीको टीका लगाए अनिष्ट टर्छ भन्ने विश्वास छ। अष्टमीका दिन वसन्तपुरमा रहेको गद्दी बैठक अगाडि मैलको रूखलाई रङ्गीचङ्गी ध्वाजापताका साथ सिँगारी गाडिएको चिरमा पूजाआजा गरेपछि फागु सुरु हुने गर्छ।

प्रहरीले उपत्यकाको सुरक्षा व्यवस्था कडा पारिएको जनाएको छ। जबरजस्ती लोला हान्ने र रङ दल्नेलाई कारबाही गर्ने प्रहरीले जनाएको छ। प्रहरीले उपत्यकाका ६५ भन्दा बढी स्थानमा मादक पदार्थ सेवन (मापसे) चेकिङ भइरहेको जनाएको छ।

ट्राफिक प्रहरीले मादक पदार्थ सेवन गरी सवारी नचलाउन आग्रहसमेत गरेको छ। प्रत्येक चोकमा ट्राफिक प्रहरीले हातमा प्लेकार्ड बोकेरै मादक पदार्थ सेवन नगर्न आग्रह गरेको छ। मेलमिलाप र सद्भावको सन्देश दिई आउने होली परम्परागत रूपमा आपसमा रङ दलेर मनाउने चलन छ।