रङहरूको पर्व होलीः आज पहाडका बिभिन्न क्षेत्रमा मनाइदै 

काठमाडौँ। रङहरूको पर्व होली अर्थात् फागु पर्व आज धुमधामका साथ सारा देश भरि नै मनाइदै छ। विशेष गरेर आज होली पहाडका बिभिन्न क्षेत्रमा मनाइने गरिन्छ र भोलि तराईका जिल्लामा होली मनाउने चलन रहेको छ।

पहाडी जिल्लामा फागुन शुक्ल पूर्णिमाका दिन होली मनाउने र अष्टमीका दिन गाडिएको चिर ढलाई दहन गरेपछि होली पर्व सम्पन्न हुने विश्वास गरिन्छ। देशभरिका बिभिन्न जिल्लामा आज रङ, अबिर दलेर, शुभकामना साटासाट गर्दै, विभिन्न गीत गाउँदै होली पर्व मनाउने गरिन्छ।

सत्ययुगमा भगवान् विष्णुका भक्त प्रह्लादलाई मार्न खोज्दा आगोले जलेर होलिका भस्म भएको सम्झनामा खराब प्रवृत्तिको अन्त्यका रुपमा लिई त्यसैको खुसियालीमा रङ र अबिर दलेर होली मनाउने परम्परा रहेको धार्मिक मान्यता रहेको छ।

अन्य सम्बन्धित समाचार:  देशभर थप ८,४१८ जनामा कोरोना संक्रमण पुष्टि

होली पर्वका अवसरमा विभिन्न रङ दल्ने परम्परा रहे पनि पछिल्लो समय विभिन्न खालका इनामेल, पेन्टिङहरुले अनुहार, कपाल र शरीर रङ्गाउने गरिएको छ। त्यस्ता, इनामेल पेन्टिङहरू स्वास्थ्यका लागि हानिकारक हुने भएकाले सचेत भई रङ्ग खेल्न चिकित्सकले आग्रह गरेका छन्।होली पर्व मनाउन सरकारले आज सार्वजनिक बिदा दिएको छ। तर यस वर्ष कोरोना भाइरसको जोखिमका कारण सिङ्गो विश्वले सावधानी अपनाइरहेको छ।

यसैबीच नेपाल सरकारले सार्वजनिक समारोह, कार्यक्रम, भेला, गोष्ठी तथा भीडभाड हुने किसिमका कुनैपनि कार्यक्रम नगर्न र नगराउन तथा त्यस किसिमका कार्यक्रममा सहभागी नहुन सचेत गराइरहेको छ।

नेपाल प्रहरीले आफ्नो परिवारको बीचमा मात्रै होली खेलेर सभ्य र स्वस्थ रहन अपिल गरेको छ। कोरोनाका कारण हालसम्म विश्वभर ३ हजार ६ सय जनाको ज्यान गएको छ भने त्यसको सङ्क्रमण विश्वभरि १ लाख भन्दा धेरै रहेको छ। पछिल्लो दुई सातादेखि नेपाल सरकारले कोरोना भित्रन नदिन हवाई तथा सिमा सुरक्षा र चेक जाँचमा कडाइ गरेको छ।