ट्राफिक प्रहरीलाई घुसको अफर गर्ने पक्राउ

काठमाडौँ। ट्राफिक प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने एकजना पक्राउ परेका छन्।कलङ्की चोकमा ड्युटीमा खटिएका ट्राफिक प्रहरीले शङ्का लागि सबारीसाधन चेकजाँच गर्ने क्रममा कालीमाटीबाट कलङ्की आउँदै गरेको बा ५ च ९०५१ नम्बरको कारका चालक चन्द्रागिरी नगरपालिका घर भएका ४२ वर्षीय विनोद श्रेष्ठलाई पक्राउ गरेको हो।

उक्त कार चालक श्रेष्ठले मादक पदार्थ सेवन गरी सवारी चलाएका थिए। उनले कलङ्की चोकमा ड्युटीमा खटिएको ट्राफिक प्रहरीलाई नगद ५ हजार रुपैयाँ दिई कानुनी कारवाहीबाट बच्न कानुन विपरित आर्थिक प्रलोभनमा पार्न खोज्दा आइतबार राति ट्राफिक प्रहरीले पक्राउ गरेको हो।

यस सम्बन्धमा ट्राफिक प्रहरीले आवश्यक अनुसन्धानका लागि चालक र सवारी साधन सहित महानगरीय प्रहरी वृत्त कालिमाटीमा बुझाएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ।

अन्य सम्बन्धित समाचार:  मलामी बोकेको जीप दुर्घटना हुँदा १७ घाइते