दरबार हाइस्कुलः नयाँ भवनबाट कक्षा सञ्चालन हुँदै

काठमाडौँ। ऐतिहासिक दरबार हाइस्कुलका रूपमा परिचित भानु माध्यमिक विद्यालयले आगामी शैक्षिक सत्रदेखि नयाँ भवनबाट कक्षा सञ्चालन गर्ने भएको छ।

२०७२ सालको भूकम्पले क्षतिग्रस्त बनाएको भवन निर्माण कार्य सम्पन्न भएसँगै यसै शैक्षिक सत्रदेखि कक्षा सञ्चालनको तयारी गरिएको हो। नेपाल र चीन सरकारको निर्माण प्राविधिक टोलीले अन्तिम स्वीकृति दिएर नेपाललाई हस्तान्तरण गरेपछि वैशाखबाट विद्यार्थीले भवनमा पठनपाठन गर्न पाउनेछन्।

नयाँ शैक्षिक सत्रबाट विद्यार्थीलाई नवनिर्मित दरबार हाइस्कुलमा सार्ने गरी आन्तरिक तयारीमा जुटेको बताइएको छ। १८ महिनाको अवधिमा चीन सरकारले छनौट गरेको साङ्घाई कन्स्ट्रक्सन प्रालिले निर्माण कार्यलाई पूर्णता दिएको हो। झण्डै ८० करोड लगानीमा निर्माण कार्य पूरा भएको विद्यालय भवन निक्कै आकर्षक बनेको छ। यसअघि सरकारले क्षतिग्रस्त भवनमा रातो स्टिकर टाँसेपछि विद्यार्थीले निकै जीर्ण भवनमा अध्ययन गर्दै आएका थिए।

अन्य सम्बन्धित समाचार:  शिक्षकहरु एक जिल्लाबाट अर्को जिल्लामा सरूवा हुन पाउने

दुई सरकारबीच सहमतिपछि दरबार हाइस्कुलको बाहिरी संरचना पुरानै शैलीमा निर्माण गरिएको छ। स्कुलको बाहिरी संरचना पुरानै शैलीको भए पनि निर्माणका क्रममा प्रयोग गरिएका सबै सामग्री आधुनिक भएको बताइएको छ। हाल दरबार स्कुल वाल्मीकि विद्यापीठको परिसरमा चीन सरकारले नै निर्माण गरिदिएको अस्थायी सिकाइ केन्द्र (टीएलसी) मा सञ्चालन हुँदै आएको छ।