अनमोलको ठगी आरोपबारे स्पष्टिकरण

काठमाडौँ। नेपाली चलचित्रका अभिनेता अनमोल केसीले आफूविरुद्ध लगाइएको ठगीको आरोपबारे स्पष्टिकरण दिएका छन्।

उनले सामाजिक सञ्जाल फेसबुकमार्फत आफूविरुद्ध लगाइएको ५ लाख रुपैयाँको ठगीको आरोपमा स्पष्टीकरण दिँदै सञ्चारमाध्यमबाट यस्तो खबर सुन्दा आफू स्तब्ध भएको बताएका छन्।

‘म अनमोल केसी, म र मेरो फिल्म मन पराउनु हुने दर्शक तथा शुभचिन्तक एवं सञ्चारकर्मी मित्रहरू। म चलचित्र “ए मेरो हजुर ४” सुटिङ्को सिलसिलामा व्यस्त भई काठमाडौं बाहिर भएको बेलामा म माथि ५ लाख रुपैयाँ ठगीको आरोप लागेको बारेमा मिडिया मार्फत सुनेँ र स्तब्ध भएको छु। यो कुराको स्पष्टिकरण म मिडियाकर्मी मित्रहरूको सामु उपस्थित भएरै दिन चाहन्थेँ तर म अहिले सुटिङको क्रममा काठमाडौं बाहिर रहेकाले यही मार्फत आफ्नो कुरा राख्न चाहन्छु। 

करिब ३,४ महिना पहिला “धुपौरो” नामक सिनेमाको साइन गरेको थिएँ। फिल्म साइन गरे बापत फिल्मका निर्माताले साइनिङ्ग माउन्टको रुपमा रु.५ लाख दिनु भएको थियो। यहाँहरू सबैलाई अवगतै छ कि मैले फिल्म साइन गर्दा मेरो विवेकले भ्याएसम्म स्क्रिप्टलाई प्राथमिकता दिने गरेको छु। “धुपौरो” साइन गर्दा मैले यसको वानलाइन स्टोरी मात्र सुनेको थिएँ। स्क्रिप्ट तयार भएर आउँदा त्यो मैले सुनेको वानलाइन भन्दा धेरै फरक थियो। मैले निर्माता निर्देशकलाई स्क्रिप्टमा थप काम गर्न आग्रह गरे। स्क्रिप्टमा थप मेहनत गरेर अझै राम्रो सिनेमा बनाऊ भन्नु के मेरो गल्ती हो र रु तर उहाँहरूले त्यही स्क्रिप्टमा सुटिङमा जान मलाई कर गर्नु भयो जुन मैले मानिन्। यही कुरामा मत बाझियो र यही स्क्रिप्टमा फिल्म बनाउनुहुन्छ भने तपाईँहरूको पैसा फिर्ता लिन सक्नुहुन्छ भन्दा उहाँहरूले लिन मान्नु भएन। र, अहिले अचानक उल्टो म माथि ठगीको आरोप लागेको सुन्दा म स्तब्ध भएको छु। 

अहिले पनि उहाँहरूले मैले लिएको पैसा जतिबेला पनि लिएर जान सक्नुहुनेछ। मैले यसो भनिरहदा धेरैलाई लाग्न सक्छ पुरै स्क्रिप्ट नपढी किन फिल्म साइन गरेको त रु मैले माथि नै भनिसके कि नेपाली फिल्म इन्डस्ट्री सानो छ र यहाँ धेरै काम विश्वासका आधारमा हुन्छन्। मैले फिल्मको स्क्रिप्टमा थप होमवर्क गरौँ भन्दा उहाँहरूले इगोको रुपमा लिनुभयो र म सुटिङको सिलसिलामा बाहिर भएको मौका छोपी मेरो चरित्रहत्या गर्न खोज्नु भएकोमा म अत्यन्त दुखी भएको कुरा अवगत गराउँदै उहाँहरुसँग एडभान्स लिएको रकम जुनसुकै समयमा म फिर्ता दिन तयार रहेको जानकारी गराउन चाहन्छु।’