गोरखाको छहरेखोलामा जीप दुर्घटना, १३ घाइते

दुर्घटना

गोरखा। गोरखामा जीप दुर्घटना हुँदा एकै गाउँका १० जना घाइते भएका छन्। गम्भीर घाइते ४ जनालाई थप उपचारका लागि काठमाडौं लैजान हेलिकोप्ट बोलाइएको छ।

बारपाक सोलिकोट गाउँपलिका–४, सौरपानीबाट गोरखाबजारतर्फ आइरहेको बा १५ च १०१६ नम्बरको जिप मंगलबार बिहान ७ः०० बजे केउरामा दुर्घटना भएको थियो।

दुर्घटनामा परि विमला गुरुङ, रमा गुरुङ, बुद्धबहादुर गुरुङ, श्रीमान् गुरुड, क्षेत्रकुमारी गुरुङ, टेकमाया गुरुङ र उनकी ६ वर्षीया छोरी सुनीता घाइते भएका छन्। सोही दुर्घटनामा परी सुकमाया गुरुङ, विनोद गुरुङ, राजकुमारी गुरुङ र चालक आनन्दकुमार गुरुङ पनि घाइते भएका छन्। घाइते सबै रञ्चोकका हुन्।

यी मध्ये विमला, रमा, क्षेत्रकमारी र सुकमायाको अवस्था गम्भीर रहेको बताइएको छ। उनीहरुलाई थप उपचारका लागि काठमाडौं लैजानु पर्ने भएपछि माउन्टेन एयरको हेलिकोप्टर बोलाइएको ट्राफिक प्रहरी कार्यालय गोरखाका इञ्चार्ज सुकबहादुर बिकले जानकारी दिए।

अन्य सम्बन्धित समाचार:  दलित पत्रकार सङ्घको महाधिवेशन फागुन २८ मा

जिप सडकबाट करिब १ सय मिटर तल खसेको छ। गोरखामा पछिल्लो एक साताको बीचमा भएको यो दोस्रो जिप दुर्घटना हो। यसअघि जनप्रतिनिधि र कर्मचारी सवार जिप दुर्घटना हुँदा एक वडा सचिवको मृत्यु भएको थियो। गाउँपालिकाकी उपाध्यक्षसहित ७ घाइते भएका थिए।