८ देशलाई अनअराइभल भिसामा रोक

काठमाडौँ। कोरोना भाइरस (कोभिड-१९) अतिप्रभावित ८ देशको अन अराइभल भिसामा सरकारले रोक लगाइएको छ। मार्च १० तारिखदेखि लागू हुने गरी र अर्को आदेश नआएसम्मका लागि ती ८ देशको अन अराइभल भिसा रोकिएको हो। यसअघि सरकारले चीन, इरान, इटाली, कोरिया, जापान गरी ५ देशलाई मात्र प्रतिबन्ध लगाउने तयारी गरेको थियो।

विश्व स्वास्थ्य सङ्गठनले उच्च सतर्कता अपनाउन सुझाव दिएसँगै सरकारले चीन, इरान, इटाली, कोरिया, जापान, फ्रान्स, जर्मनी र स्पेनका नागरिकलाई अन अराइभल भिसा रोकेको जनाइएको छ। यसअघि सरकारले युद्धग्रस्त १३ मुलुकबाहेक सबै देशको अन अराइभल भिसामा रोक लगाउने तयारी गरेको भए पनि अहिलेलाई ८ देशलाई मात्र रोकेको छ।

अन्य सम्बन्धित समाचार:  बाघको आक्रमणबाट एक घाइते

प्रतिबन्धित देशका नागरिक नेपाल आउन चाहे सम्बन्धित देशमा रहेको नेपालको दूतावास र नियोग मार्फत भिसा आवेदन दिन भने सक्नेछन्। उनीहरूले भिसा आवेदनसँगै स्वास्थ्य परीक्षणको रिपोर्ट पनि पेस गर्नुपर्ने हुन्छ। त्यही आधारमा नै सम्बन्धित निकायले भिसा दिन वा नदिन सक्नेछन्। भिसा पाए पछि हवाई मार्गबाट नेपाल आउने विदेशी नागरिक स्वास्थ्य जाँचको प्रमाणपत्रको जाँच त्रिभुवन विमानस्थलस्थित अध्यागमन र सडकमार्गबाट आउनेको सिमानामा रहेको अध्यागमनबाट गरिनेछ।

प्रतिबन्धित देशका नागरिकलाई त्रिभुवन विमानस्थलबाट नै नेपाल प्रवेश गर्न निर्देशन दिइएको छ। अर्को सूचना जारी नभएसम्मका लागि सिमा नाका पूर्ण रूपमा बन्द गरिएको विभागद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। नेपालमा सञ्चालित वायुसेवा सञ्चालक र ट्राभल तथा टुर कम्पनीले सरकारको यो निर्णयलाई पूर्ण पालना गर्न पनि निर्देशन दिएको छ।

अन्य सम्बन्धित समाचार:  निषेधाज्ञामा बिहे गरेपछि सवारी साधन सहित दुलहाका बुबा नियन्त्रणमा

सम्बन्धित देशका नागरिकले नेपालको भिसा पाइसकेको सन्दर्भमा भने स्वास्थ्य जाँचको प्रमाण लिएर आउन भनिएको छ। उक्त स्वास्थ्य जाँचको प्रमाणपत्र नेपाल भित्रिँदा बढिमा ४ दिन अघि मात्र जारी भएको हुनुपर्नेछ। यी मुलुकबाहेक अन्य मुलुकका नागरिकले भने पूर्व अभ्यासमा रहेको प्रक्रियाबाट नै भिसाका लिन सक्नेछन्।

विश्व स्वास्थ्य सङ्गठनको पछिल्लो तथ्याङ्कअनुसार विश्वभर १ लाख ५ हजार ५ सय ८६ जनामा कोरोना सङ्क्रमण देखिएको छ। चीनमा मात्रै ८० हजार ८ सय ५९ जनामा कोरोना सङ्क्रमण देखिएको छ। विश्वभर ३५ सय ८४ जनाको कोरोनाका कारण मृत्यु भएको छ।