संघीयता र धर्मनिरपेक्षता जस्तो विषयलाई विवाद र बहसको बिषय नबनाऔँ

विजय कुमार पन्त

फरक धारको मूल एजेन्डा प्राप्त उपलब्धिलाई जोगाउने र यसैमा टेकेर थप उपलब्धि हासिल गर्ने सु-स्पस्ट र मौलिक किसिमको हुनुपर्छ। पछिल्लो परिवर्तन र प्राप्त उपलब्धिहरूलाई धरापमा पार्ने धारणा लिएर अघि बढ्नु जुनसुकै राजनीतिक शक्ति र व्यक्तिहरूका लागि पनि आत्मघाती सरह हुन्छ। समय र समाज निरन्तर परिवर्तनप्रेमी र प्रगतिशील हुने हुँदा पश्चगमनको राजनीतिक यात्रा, सोच र गतिविधि गन्तब्योन्मुख नभएर पतनोन्मुख मानिन्छ। उल्टो हिँडाइले अगाडि हैन पछाडि धकेल्छ ! बेलैमा थाहा नपाउने हो भने पछाडिबाट पछारिन पनि सक्छ।

समयको गति अनुसार आफ्नो मति नबनाउनेहरू मासिएको थुप्रै उदाहरणहरू संसारभर बग्रेल्ती पाइन्छ। डाइनोसरको लोपले पनि दुनियाँलाई गतिलो पाठ मिलेकै हुनुपर्ने हो ! संसारै परिवर्तन गर्छु भनेर हिँड्नेहरूले आफूलाई चाँहि परिवर्तन र सुधार नगरेको देख्दा दुस्ख लाग्नु अस्वाभाविक हुँदैन।आजको समयमा सधैं सबैलाई मुर्ख बनाउँछु भनेर हिड्नेहरू आफैं महामुर्खमा दरिनु परेको तितो यथार्थ घाम झैँ छर्लङ्ग छ।

नेपालको सन्दर्भमा फरक राजनीतिक धारले फड्को मार्न नसक्नुको कारण पनि यही नै हो। प्रयास त धेरैले गरे, तर आफू परिवर्तन नहुनाले अन्ततः आजसम्मका कोही पनि अघि बढ्न नसक्नुको नमिठो यथार्थले सबैलाई यही सिकाउँछ।
पुराना राजनीतिक शक्तिहरूको विरोध गरेर, उनीहरूलाई गाली गरेर, धारे हात लगाएर अनि सत्तोसराप गरेर मात्र जनताको मन मस्तिष्कमा डेरा जमाउन सकिँदैन। जनताको दिल दिमागमा पस्न र बस्न सर्वप्रथम आफैं बदलिनुको विकल्प छैन। पुराना राजनीतिक शक्तिहरूको केवल कर्मकाण्डी विरोधले मात्र फरक राजनीतिक धार स्थापित हुनैसक्दैन। पुरानै पारा र राजनीतिक झारा टार्ने सिर्फ महत्वाकांक्षा सफल नहुने निश्चितै छ। फरक राजनीतिक धारको नेतृत्व गर्छु भनेर आउनेहरूको असल अनुहारले मात्र यसको औचित्य पुष्टि हुँदैन। दुनियाँमा फरक राजनीतिक धारको नेतृत्व गरेर आउनेहरूले पुरानाहरूलाई कसरी पछारे रु पाठ पनि त पढ्नु र सिक्नुपर्यो। केवल लहैलहैमा, बहकिएर, आग्रह, पूर्वाग्रह र प्रतिशोधको भावनामा जलेर कहिल्यै पनि फरक राजनीतिक धारले जरा गाड्न सक्दैन।

नेपालमा पनि यस अघिका थुप्रै प्रयास, प्रयत्न र कोसिशहरूले सफलता नपाउनुको पीडादायी पाठ अझै सिक्न नसक्नु, जान्न नचाहनु र राजनीतिक यथार्थलाई नस्विकार्नु अर्को विडम्बनाको विषय हो। नयाँ हूँ भनेर आउनेहरूले पुरानै मन्त्र जप्न थालेपछि दुख पाएका छन् र पाउँछन् पनि । फरक राजनीतिक धार बनेर आउनु मात्र ठूलो कुरा होइन। फरक भनेर मात्र हैन बनेर देखाउनु चाहिँ अहिलेको आवश्यकता हो। यत्ति कुरा नबुझेसम्म र स्विकार नगर्दासम्म फरक राजनीतिक धारका रूपमा आउनु र धाउनुको कुनै अर्थ र औचित्य छैन। फरक हूँ भनेर आएपछि नयाँपन त देखिनै पर्छ।

राजनीतिक एजेन्डा अवस्था र व्यवस्था अनुकूल हुनुपर्छ। प्रतिगामी एजेन्डाले राजनीतिक प्रगति हुनसक्दैन। परिवर्तन आजको आवश्यकता हो। समयको माग हो। अनि जनताको चाहना पनि हो। जनताको चाहाना र भावनालाई बुझ्न सकिएन भने के पुराना, के नयाँ! कसैले पनि केही गर्न सक्ने वाला अब छैन।

नेपालको र विश्व राजनीतिको आजसम्मको उतारचढावले यही नै सिकाउँछ र देखाउँछ। यो तितो यथार्थ केहीलाई मनपर्न पनि सक्छ , मन नपर्न पनि सक्छ तर यथार्थ यही हो। सत्य, सत्य नै हो। फरक राजनीतिक धारको आजको समस्या पनि यही नबुझ्नु हो। फरक राजनीतिक धारले गणतन्त्र, संघीयता र धर्मनिरपेक्षता जस्तो निर्विवाद विषयलाई विवाद र बहसको विषय बनाइरहनै पर्दैन! केवल आफूलाई यसैगरी परिवर्तन गरे मात्र पुग्छ।

बरु फरक धारले कार्यकारी राष्ट्र प्रमुख, सुशासन, जनपरिचालन र जनसरोकारका बिषयमा वकालत गर्दै आफ्ना अग्रगामी योजनाहरु लिएर जनताको बिचमा जान ढिला भईसकेको छ।

(लेखक राष्ट्रिय संस्कार धाम नेपालका संस्थापक हुन्।)