‘ए मेरो हजुर ४’ को सेटमा होली

काठमाडौँ। नेपाली कथानक चलचित्र ‘ए मेरो हजुर ४’ टिमले होली मनाएको छ। सुटिङ कै क्रममा यो टिमले होली मनाएको हो।
चलचित्रका मुख्य अभिनेता अनमोल केसी अभिनेत्री सुहाना थापा, निर्देशक झरना थापा सँगै अभिनेता सलोन बस्नेतले होली खेलेको तस्विर सार्वजनिक भएको छ।

यो चलचित्रको छायाङ्कन काठमाडौँ बाहिर अहिले भइरहेको छ। निर्माण सङ्घले कोरोना भाइरसका कारण कुनै पनि चलचित्रको छायाङ्कन नगर्न आग्रह गरेता पनि यो चलचित्रको भने छायाङ्कन भइरहेको छ।

आउँदो वर्षको दशैंलाई रिलिज मिति तय गरिएको यो चलचित्रमा प्रेमकथालाई नै उठान गरिएको छ। चलचित्र ‘ए मेरो हजुर ३’मा रुचाइएका अनमोल र सुहानाको जोडलाई नै चौथो सिरिजमा लिइएको छ। सुनिलकुमार थापाको लगानीमा बनिरहेको चलचित्रमा दीर्घ खड्काको सम्पादन, संजय लामाको छायाङ्कन, बसन्त सापकोटाको सङ्गीत रहेको छ।