मन्त्री भट्टराई र चिनियाँ राजदूतबीच भेटवार्ता

काठमाडौं। नेपालका लागि चिनियाँ राजदूत होउ यान्छी र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईबीच भेटवार्ता भएको छ। भेटमा कोरोना भाइरसको संक्रक्रमणले ल्याएको समस्या, यसको नियन्त्रण, रोकथाम उपाय र पूर्व तयारीको बारेमा कुराकानी भएको हो।

मंगलबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा भएको भेटमा राजदूत यान्छीले कोरोना भाइरस नियन्त्रण र रोकथामका लागि चीनको अनुभव बारेमा जानकारी दिएकी हुन्। राजदूत यान्छीले कोरोना भाइरसको संक्रक्रमणबाट पीडित ८० हजार ९ सय बिरामीमध्ये ५९ हजार चिनियाँ नागरिक उपचारपछि घर फर्किएको बताएकी छिन्।

राजदूत यान्छीले नेपालमा कोरोना भाइरसको संक्रमण नफैलिने विश्वास व्यक्त गर्दै यदि नेपालमा समस्या भए नियन्त्रणका लागि चीनको पूरा सहयोग रहने बताइन्। उनले कोरोना भाइरसको संक्रक्रमणबाट बच्न नेपालले अपनाएको पूर्व सर्तकता र तयारीको प्रशंसा समेत व्यक्त गरिन्। चीनले कोरोना भाइरसको संक्रक्रमण नियन्त्रण र रोकथामको लागि अपनाएका सबै खालका प्रविधि, औषधि र सूचना नेपाललाई दिन चीन तयार रहेको उनको भनाई छ।

भेटमा मन्त्री भट्टराईले कोरोना भाइरसको समस्याबाट चीन चाँडै मुक्त हुन लागेको भन्दै खुशी व्यक्त गरे। उनले कोरोना भाइरसको संक्रमण रोकथामका लागि नेपालले सबै तयारी गरिरहेको जानकारी गराएका हुन्। अन्तर्राष्ट्रिय विमानस्थलमा चेकचाँज, अस्पतालहरुमा वेडको व्यबस्थापन, आवश्यक क्वारेन्टाइनको व्यबस्थालगायतका बिषयमा सरकारले गरिरहेको तयारीको बिषयमा मन्त्री भट्टराईले जानकारी गराएका छन्।

मन्त्री भट्टराईले कोरोना भाइरसको संक्रमण रोकथामका निम्ति सरकारले भिडभाड हुने कार्यक्रम, सार्वजनिकस्थलहरुमा भेला नगर्न सचेत गराएको बताए। उनले कोरोना भाइरसको बारेमा सञ्चार माध्यमहरुबाट सचेतानामुलक सूचनाहरु पनि प्रवाह गरिएको जानकारी गराएका छन्।