कोरोना भाइरसः विश्व मनोरञ्जन बजारमा प्रभाव

काठमाडौँ। कोरोना भाइरसको सङ्क्रमण विश्वव्यापी रूपमा फैलिएको कारण अहिले विश्वभरिका मनोरञ्जन बजार प्रभावित भएको छ। कोरोनाको त्रासले सिनेमा हल बन्द हुने क्रम बढ्दै छ। फेसन सो, फिल्म फेस्टिभल, म्युजिक कन्सर्ट जस्ता मनोरञ्जन प्रधान कार्यक्रम पनि विश्वव्यापी रूपमा रोकिन थालेका छन्।

कोरोना भाइरसको सङ्क्रमण अमेरिकामा देखिएपछि यहाँ फिल्म निर्माताले फिल्मको सुटिङ समेत स्थगित गरेका छन्। अहिले अमेरिकामा आधा दर्जन फिल्मको सुटिङ र स्थगित भइसकेको छ।

यसै क्रममा ‘मिसन इम्पोसिबल ७’ को सुटिङ चार दिन अघिबाट स्थगित भएको छ। रिलिजको मिति नजिकिँदै गर्दै यो फिल्मको बाँकी केही छायाङ्कन इटालीमा चलिरहेको थियो। पछिल्लो समय इटालीमा कोरोना भाइरसको सङ्क्रमण बढेको र अमेरिकी सरकारले यस्तो बेलामा सुरक्षित रूपमा आफ्नो मुलुक फर्कन आह्वान गरेको भन्दै ‘मिसन इम्पोसिबल ७’ युनिट सुटिङ नै स्थगित गरेर आफ्नो मुलुक फर्किसकेका छन्।

विश्वव्यापी रूपमा सङ्क्रमण देखिएको कोरोना भाइरसको प्रभाव बढेपछि इटाली र फ्रान्सले त्यहाँका सिनेमा हलसमेत बन्द गरेका छन्। सबै साङ्गीतिक कार्यक्रम तथा जमघटमा पनि रोक लगाएका छन्।

हलिउडको सबैभन्दा लामो श्रीङ्खला अन्तरगत प्रभावशाली सिक्वेल फिल्म ‘जेम्स बोन्ड’को नयाँ फिल्म ‘नो टाइम टु डाई’को रिलिज रोकिएको छ। यो फिल्मको प्रदर्शन यही अप्रिलमा हुँदै थियो। फिल्मको रिलिजका लागि विश्वव्यापी रूपमा तीव्र प्रचार भइरहेको बेला कोरोना भाइरसको प्रभाव विश्वव्यापी रूपमै फैलिएपछि निर्माण पक्षले यसै साता यो फिल्मको रिलिज स्थगित गरेको हो।

चीन सरकारको आयोजनामा हुने ‘१०औं बेइजिङ अन्तर्राष्ट्रिय फिल्म फेस्टिबल–२०२०’ कोरोनाको कारण हाललाई स्थगित गरिएको छ। यो महोत्सव अनिश्चित समयका लागि स्थगित गरिएको जनाईएको छ। फिल्म महोत्सवमा देश विदेशका सिनेकर्मी तथा दर्शकको सहभागिता हुने भएकाले कोरोना सङ्क्रमणबाट अतिथिलाई जोगाउन महोत्सवलाई कोरोनाको सङ्क्रमणमा सुधार नआएसम्मका लागि रोकिएको जनाइएको छ।