छुट्टाछुट्टै सवारी दुर्घटनामा परि २ को मृत्यु ४ गम्भीर

नवलपरासी। पूर्वी नवलपरासीमा भएको दुई छुट्टाछुट्टै सवारी दुर्घटनामा परी २ जनाको ज्यान गएको छ भने ४ जना गम्भीर घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय, नवलपुरका अनुसार, मङ्गलबार साँझ गैण्डाकोटबाट पहाडी मार्ग बुलिङ्टार जाँदै गरेको अ यो ००२७ नम्बरको बलेरो जिप सडकबाट अन्दाजी एक सय मिटर तल खसेर दुर्घटना भएको हो।

दुर्घटनामा परी गम्भीर घाइते दाङका ५३ वर्षीय विमलचन्द्र सुवेदीको उपचारको क्रममा नयाँ मेडिकल कलेज भरतपुरमा निधन भएको प्रहरीले जनाएको छ। दुर्घटनामा जिप चालक राप्ती नगरपालिका–४, चितवनका २२ वर्षीय निर्जल हुमागाईँ, रौतहटको बागमती नगरपालिका–२ का ३९ वर्षीय दलबहादुर सलामी मगर, नुवाकोट ककनी नगरपालिका–४ का २६ वर्षीय रितिक लामा र २६ वर्षीय गौतम घले घाइते भएका छन्। उनीहरूको नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ।

अन्य सम्बन्धित समाचार:  गाई काटेको अभियोगमा २ जना पक्राउ

त्यसैगरी, गएराति नै गैंडाकोट नगरपालिका–५ मा ना ३ च २२६१ नम्बरको बोलेरोले पैदल यात्रीलाई ठक्कर दिँदा १ जनाको ज्यान गएको छ। इलाका प्रहरी कार्यालय, गैँडाकोटका अनुसार, गम्भीर घाइते पालुङटार गाउँपालिका–१०, गोरखाका ३५ वर्षीय ज्ञानबहादुर कुँवरको नयाँ मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा निधन भएको हो।

प्रहरीले जिप र त्यसका चालकलाई नियन्त्रणमा लिएको छ।