कोरोना भाइरसः नेपाली फिल्म क्षेत्रमा प्रभाव

काठमाडौँ। कोरोना भाइरसको सङ्क्रमण विश्व भरि नै फैलिदै गर्दा यसको प्रत्‍यक्ष प्रभाव नेपाली मनोरञ्जन क्षेत्रमा परेको छ। नेपाल चलचित्र निर्माता सङ्घले एक विज्ञप्ति निकाल्दै कोरोना भाइरसबाट सतर्कता अपनाउँदै सुटिङ स्थगित गर्न आग्रह गरेको थियो। कोरोना भाइरसको जोखिम न्यूनिकरणका लागि छायाङ्कन भइरहेको चलचित्रहरूको हकमा सम्भव भएसम्म राज्यबाट अर्को सूचना जारी नहुन्जेल सम्मका लागि आ–आफ्ना चलचित्रहरूको छायाङ्कन कार्य स्थगित गर्न अनुरोध गरिएको थियो।

१०औं ‘नेफ्टा फिल्म अवार्ड’ स्थगित
आगामी चैत्र २२ मा आयोजना हुने भनिएको १०औं ‘नेफ्टा फिल्म अवार्ड’ सँगै अवार्डको मनोनयन स्थगित गरिएको छ। नेपाल चलचित्र प्राविधिक सङ्घले एक विज्ञप्ति जारी गर्दै कोरोना भाइरसको उच्च सतर्कतालाई मध्यनजर गर्दै अवार्ड स्थगित गरेको हो। मनोनयनसँगै चैत्र २२ गते टुँडिखेलमा हुने अवार्ड प्रदान समारोह पनि स्थगित भएको छ।

‘म यस्तो गीत गाउँछु २’को प्रदर्शन स्थगित
कोरोना भाइरसको कारण नै नेपाली कथानक चलचित्र ‘म यस्तो गीत गाउँछु २’ को प्रदर्शन स्थगित गरेको छ। विश्वभर कोरोना भाइरस ९कोभिड९१९० को त्रास बढेसँगै नेपालमा पनि यसको त्रास फैलिएको र यसैलाई मध्यनजर गर्दै फागुन ३० गतेबाट प्रदर्शन गरिने भनिएको उक्त फिल्मको प्रदर्शन स्थगित भएको छ।

‘नीरफूल’ को प्रदर्शन स्थगित
कोरोना भाइरसका कारण नेपाली फिल्म ‘नीरफूल’ को पनि प्रदर्शन स्थगित भएको छ। प्रदर्शन मिति सर्दासर्दा आउँदो चैत ७ गतेबाट प्रदर्शनमा आउने तरखरमा रहेको यो फिल्म अब स्थिति सामान्य भएपछि मात्र प्रदर्शनमा आउने भन्दै स्थगित भएको छ। दर्शकको स्वास्थ्यलाई ख्याल गरि फिल्मको प्रदर्शन मिति सार्ने निर्णयमा पुगेको निर्माण टिमको भनाई रहेको छ।